इप्पानको विधान संशोधन गरी खुला प्रतिस्पर्धा सुनिश्चित गर्न पूर्व महासचिव शेर्पाको माग

56
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पूर्व महासचिव गोरे शेर्पाले संस्थाको विधान संशोधन गरी सबै सदस्यहरूलाई कार्यसमितिको जुनसुकै पदमा प्रतिस्पर्धा गर्ने अवसर दिन माग गरेका छन्।

संस्थाभित्रको वर्तमान विवाद समाधानका लागि विधानका सीमित र विवादित व्यवस्थाहरूको खारेजी अनिवार्य रहेको उनको जिकिर छ।

एक वक्तव्य जारी गर्दै शेर्पाले लेखेका छन्, ‘संस्थाका अधिकांश सदस्यहरूले संगठनको सीमित तथा विवाद सिर्जना गर्ने संवैधानिक व्यवस्थाहरू संशोधन गरी इच्छुक सबै सदस्यहरूलाई कार्यसमितिको जुनसुकै पदमा लोकतान्त्रिक रूपमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुपर्ने धारणा व्यक्त गरिसकेका छन् ।’

उनले विधान संशोधनका लागि सुझाव समितिले प्रतिवेदन बुझाइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।

शेर्पाले वर्तमान वरिष्ठ उपाध्यक्ष तथा सो पदका आकांक्षीहरूलाई कुनै विशेष व्यवस्थाको संरक्षण नखोज्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘सदस्यहरूको बहुमतको भावना र संस्थागत हितलाई सम्मान गर्दै खुला, निष्पक्ष र लोकतान्त्रिक प्रतिस्पर्धालाई प्राथमिकता दिनु नै संस्थाको एकता, विश्वसनीयता र प्रतिष्ठाका लागि उपयुक्त मार्ग हुनेछ।’

विवादको केन्द्रमा रहेका उम्मेदवारहरूकै पहलमा गठन गरिएका वार्ता वा समन्वय समितिहरूको आवश्यकता र निष्पक्षतामाथि शेर्पाले प्रश्न उठाउनुभएको छ। व्यक्ति केन्द्रित समितिभन्दा संस्थागत मूल्य-मान्यता र लोकतान्त्रिक पद्धति नै निर्णयको प्रमुख आधार बन्नुपर्ने उनको तर्क छ।

नेपालको जलविद्युत् क्षेत्र हाल भारतसँगको दीर्घकालीन विद्युत् खरिद–बिक्री सम्झौता (जी२जी) र पीपीए जस्ता अत्यन्तै संवेदनशील मोडमा रहेको शेर्पाले उल्लेख गरेका छन् । यस्तो समयमा संस्थाभित्रको आन्तरिक कलहले निजी क्षेत्रको साझा एजेन्डालाई कमजोर बनाउने उनको चिन्ता छ।

‘आजको आवश्यकता व्यक्तिको विजय वा पराजय होइन, बरु नेपालको जलविद्युत् क्षेत्रको साझा हित, लगानी सुरक्षा र स्थायी विद्युत् बजार सुनिश्चितता हो,’ शेर्पाले लेखेका छन् ।

उनले निजी क्षेत्रको दीर्घकालीन भविष्यका लागि सबै पक्षलाई जिम्मेवार भएर अघि बढ्न समेत आह्वान गरेका छन् ।