
khimti-hydropower.jpg
काठमाडौं ।
काठमाडौं। ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको शेयर स्वामित्व हस्तान्तरण र आगामी सञ्चालन मोडालिटीका विषयमा छलफल गर्न नेपाल विद्युत् प्राधिकरणले वार्ता समिति पुनर्गठन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरेको हो ।
नयाँ समितिले आयोजनाको स्वामित्व हस्तान्तरण, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानीलगायतका विषयमा प्रवर्द्धक कम्पनीसँग आवश्यक वार्ता गर्नेछ ।
खिम्ती जलविद्युत् आयोजना ‘बुट’ (निर्माण, सञ्चालन, व्यवस्थापन र हस्तान्तरण) मोडल अन्तर्गत हिमाल पावर लिमिटेडले प्रवर्द्धन गरेको हो । २०५७ असार २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको यस आयोजनाको विद्यमान सम्झौता अनुसार २० वर्षपछि ५० प्रतिशत स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने व्यवस्था छ ।
तर, विभिन्न प्राविधिक तथा कानुनी कारणले सो प्रक्रिया अझै टुङ्गिन सकेको छैन । अब बन्ने समितिले नयाँ खरिद दर निर्धारण र स्वामित्व हस्तान्तरणको विषयलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।
प्राधिकरण सञ्चालक समितिले सञ्चालक सदस्य कृष्ण बसेलको संयोजकत्वमा ‘प्रशासकीय पुनरावलोकन समिति’ गठन गरेको छ । यो समितिले विद्युत् महसुल, जरिवाना तथा प्रशासनिक निर्णयहरूसँग सम्बन्धित विवादहरूको पुनरावलोकन गरी समाधानका उपायहरू सिफारिस गर्नेछ ।
प्राधिकरणमा रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ति प्रक्रियालाई तीव्रता दिन सञ्चालक समितिले पूर्व उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यलाई विज्ञ सदस्यका रूपमा नियुक्त गर्ने निर्णय गरेको छ । प्राधिकरणको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन र जनशक्ति व्यवस्थापनलाई व्यवस्थित गर्न यो निर्णय गरिएको हो ।









प्रतिक्रिया