नागढुंगा सुरुङमार्ग: जाइकाले थप सवा ५ अर्ब सहुलियत ऋण दिने, साउन पहिलो सातादेखि सञ्चालनमा

294
Shares

काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि ५ अर्ब ७० करोड जापानी येन (५ अर्ब २६ करोड नेपाली रुपैयाँ ) बराबरको थप सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थसचिब डा.घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट जापानी राजदूत तोरु मायेदाले हस्ताक्षर गरेका छन् । यस्तै ऋण सम्झौतामा अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनिराम शर्मा तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) का नेपाल प्रमुख मात्सुजाकी मिजुकीले हस्ताक्षर गरेका थिए ।

यो ऋणको ब्याजदर वार्षिक १.१५ प्रतिशत रहने र परामर्श सेवाका लागि उपयोग हुने रकममा वार्षिक ०.५५ प्रतिशत ब्याजदर लाग्ने सम्झौतामा उल्लेख छ । यो ऋणको भुक्तानी अवधि भने २० वर्ष तथा ग्रेस अवधि १० वर्ष रहने व्यवस्था गरिएको छ ।

यसअघि यो आयोजनाका लागि नेपाल र जापान सरकारबीच २२ डिसेम्बर २०१६ मा जापानिज् येन १६ अर्ब ६३ करोड ६० लाख सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो ।

आयोजना कार्यान्वयनको क्रममा मूल्य समायोजन, सुरुङ निर्माण कार्यको परिमाण तथा डिजाइनमा परिवर्तन, थप निर्माण कार्यको आवश्यकता, कोभिड १९ महामारी, स्थानीय अवरोध तथा विनिमय दरमा आएको परिवर्तन लगायतका कारण आयोजनाको लागि थप बजेट आवश्यकता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

नागढुंगा क्षेत्रमा हुने अत्यधिक सवारी जामलाई कम गरी काठमाडौँ र नेपालका अन्य प्रमुख क्षेत्रहरूबीचको आवागमनलाई सहज बनाउने उद्देश्यले यो आयोजना सुरु गरिएको हो । हाल यो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको पछिल्लो विवरण अनुसार सुरुङमार्गको भौतिक प्रगति करिब ९९ प्रतिशत सम्पन्न भइसकेको छ । २.६८ किलोमिटर लामो यो सुरुङमार्ग आगामी साउनको पहिलो सातादेखि औपचारिक कार्यक्रम आयोजना पश्चात् सञ्चालनमा ल्याइने कार्यतालिका छ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जीनियर सञ्जय पन्थीका अनुसार सञ्चालनको लागि उक्त सुरुङमार्ग तयारी अवस्थामा छ । उक्त सुरुङमार्गअन्तर्गत पहिरो नियन्त्रणसम्बन्धी काम मात्रै अहिले भइरहेको छ । पहिरो नियन्त्रणसम्बन्धी काम पनि करिब ३० प्रतिशत मात्रै बाँकी छ ।

पहिरो नियन्त्रण गर्ने स्थानमा स्थानीयबासीको जग्गा अधिग्रहणसम्बन्धी विवाद भएकाले नियन्त्रणसम्बन्धी काममा केहि ढिलाई भएको छ । पन्थीका अनुसार पहिरो नियन्त्रणको कारण सुरुङमार्ग सञ्चालनमा कुनै अवरोध सिर्जना हुँदैन् ।

सुरुङमार्ग सञ्चालनको लागि बैशाख १६ गते नै सर्भिस प्रोभाइडरको रुपमा नेपाली चिनियाँ संयुक्त उपक्रम युसिन-एआरटी ज्वाइन्ट भेन्चर्सलाई आगामी पाँच वर्षको लागि छनौट गरिसकेको छ ।

यो संयुक्त उपक्रमले आगामी ५ वर्षका लागि १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा सञ्चालको जिम्मा पाएको हो।
उनका अनुसार उक्त सुरुङमार्ग सञ्चालनको लागि सर्भिस प्रोभाइडरको लागि स्वदेशी र विदेशी गरी १० वटा कम्पनी ग्लोबल टेण्डरमा प्रतिस्पर्धा गरेका थिए ।