एप्पलको म्याकबुकलाई चुनौती दिन डेलले ल्यायो एक्सपीएस १३

140
Shares


एजेन्सी । डेलले आइतबार आफ्नो सबैभन्दा सस्तो ल्यापटप, एक्सपीएस १३ सार्वजनिक गरेको छ । पीसी निर्माता डेलले विद्यार्थी र युवा व्यावसायिकहरूलाई आकर्षित गरेर एप्पलको म्याकबुक नियोबाट बजार हिस्सा खोस्ने लक्ष्य राखेको छ ।

यसको मूल्य ६९९ (१ लाख ६ हजार) डलरबाट सुरु हुन्छ भने ब्याक–टु–स्कुल सिजनमा १६ वर्ष वा सोभन्दा माथिका विद्यार्थीहरूका लागि ५९९ (९१ हजार) डलरमा उपलब्ध गराइनेछ । एक्सपीएस १३ ले म्याकबुक नियोको तुलनामा उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको डेलले बताएको छ ।

कम मूल्यको ल्यापटपका साथ पीसी बजारमा गरिएको यो आक्रामक प्रवेशले मेमोरी–चिपको कम आपूर्तिको सामना गरिरहेको मूल्य–संवेदनशील उद्योगमा आफ्नो पहुँच विस्तार गर्न डेलले कसरी एप्पलबाट पाठ सिकेको छ भन्ने देखाउँछ ।

डेलका अनुसार, एक्सपीएस १३ यसको सबैभन्दा पातलो र हल्का मोडल हुनेछ जुन एप्पलको म्याकबुक नियो भन्दा करिब आधा पाउन्ड हल्का हुनुका साथै यसमा ठूलो डिस्प्ले पनि रहेको छ ।

एप्पलले मार्चमा ५९९ डलरबाट सुरु हुने म्याकबुक नियो लाइनअप सार्वजनिक गरेको थियो, जसले एक महिनापछि कम्पनीको दोस्रो त्रैमासिकको वित्तीय नतिजालाई सुधार्न मद्दत पुर्यायो । विद्यार्थीहरूका लागि ५०० डलर पर्ने नियोले क्रोमबुक र सस्तो विन्डोज डिभाइसहरूसँग प्रतिस्पर्धा गर्छ ।

‘म उनीहरूलाई (एप्पल) श्रेय दिन्छु । यो एक राम्रो उत्पादन हो र यसले हामीले चर्चा गर्दै आएको बजारलाई पुष्टि गर्छ । विद्यार्थी र उपभोक्ताहरू सुलभ मूल्यमा राम्रो विकल्पका हकदार छन् र हामी यसमा सहमत छौं,’ डेलका प्रमुख अपरेटिङ अफिसर जेफ क्लार्कले भने ।

गत जनवरीमा लास भेगासमा भएको कन्जुमर इलेक्ट्रोनिक्स शोमा कम्पनीले उपभोक्ता पीसी बजारका सबै मूल्य स्तरहरूमा प्रतिस्पर्धा गर्ने बताएको थियो र एक्सपीएस १३ सार्वजनिक गर्ने योजना घोषणा गरेको थियो जसको निरन्तरता स्वरूप यो नयाँ ल्यापटप आएको हो ।

कम्पनीले जनवरीमा आफ्नो लोकप्रिय एक्सपीएस ल्यापटप लाइनअपलाई पनि पुनः बजारमा ल्याएको थियो । बढ्दो मेमोरी चिप लागतका कारण वर्षको दोस्रो छमाहीमा पीसी ढुवानीमा हुनसक्ने अपेक्षित सुस्ततालाई कम गर्ने यी प्रयासहरूको उद्देश्य रहेको छ ।

इन्टेल कोर सिरिज ३ प्रोसेसर भएको एक्सपीएस १३ चाँडै उपलब्ध हुनेछ भने इन्टेल कोर अल्ट्रा सिरिज ३ प्रोसेसर र स्टोर्म रंग भएको मोडल यसै वर्षको गृष्म ऋतुको अन्त्यतिर आउने अपेक्षा गरिएको छ ।