
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सरकारले असाधारण तयारी गरेको दाबी गरेका छन् ।
उनले मन्त्रालय सम्हाले लगत्तै खर्च गर्ने क्षमता बढाउन अन्य मन्त्रालयहरूलाई ‘अभूतपूर्व’ रुपले अधिकार सम्पन्न बनाएको दाबी गरे ।
बजेटपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटको प्रभावकारितामाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षमा नै भौतिक पुर्वाधारको खर्च प्रगति चैत मसान्तमा २४–२५ प्रतिशत मात्र हुने गरेको स्मरण गरे ।
उनले यसपटक भने खर्च हुन नसकेको शीर्षकबाट बजेट आवश्यक पर्ने ठाउँमा सार्न (रकमान्तर गर्न) विनियोजन विधेयकबाटै विशेष व्यवस्था गरिएको उनले बताए ।
‘विगतमा पैसा खर्च नभएर थन्किने र अर्कोतर्फ काम हुने ठाउँमा बजेट अभाव हुने समस्या थियो । यसलाई सम्बोधन गर्न हामीले जेठ १६ गतेबाट नै रकमान्तर गर्न सक्ने गरी विनियोजन विधेयकमा व्यवस्था गरेका छौं,’ मन्त्री वाग्लेले भने, ‘यसले खर्च गर्ने प्रणालीमा ठूलो सुधार गर्छ ।’
अर्थमन्त्री वाग्लेले सरकारले ल्याएको २१ खर्ब २४ अर्बको बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरे । उनले अहिले नै नतिजा खोज्नुभन्दा सरकारलाई ‘शंकाको सुविधा’ दिन आग्रह गर्दै अर्को वर्षको वैशाख–जेठमा मात्रै खर्चको समीक्षा गर्न आग्रह गरे ।
‘अहिले नै २१ खर्ब २४ अर्ब खर्च गर्न सक्छौ कि सक्दौनौं भनेर प्रश्न नगर्नुस्, मलाई अहिले शंकाको सुविधा दिनुस्,’ अर्थमन्त्री वाग्लेले भने ।
विगतका वर्षहरूमा ठूलो आकारको बजेट ल्याउने र मध्यावधि समीक्षापछि त्यसलाई घटाउने प्रवृत्ति रहेकोमा यसपटक त्यस्तो नहुने उनले स्पष्ट पारे ।
‘अहिलेको प्रणाली र हामीले गरेका सुधारका कारण मध्यावधि समीक्षापछि २१ खर्ब २४ अर्बको बजेटलाई घटाएर १८–१९ खर्बमा झार्नुपर्ने अवस्था आउँदैन । हामी तोकिएको लक्ष्य भेटाउने गरी काम गरिरहेका छौं,’ उनले भने ।





प्रतिक्रिया