
काठमाडौं । अर्थमन्त्रीले डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटको आकार महत्त्वाकांक्षी नभएको दाबी गरेका छन् । बजेट सार्वजनिक भएपछिको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यसपटकको बजेटलाई वास्तविक धरातलमा उभिएर निर्माण गरिएको दाबी गरे ।
विगतको अभ्यास र तथ्यांकलाई विश्लेषण गर्दै अर्थमन्त्रीले भूकम्पपछिका वर्षहरूमा बजेटको आकार अस्वाभाविक रूपमा बढेको बताए ।
भूकम्पअघि बजेटको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा २५ देखि २९ प्रतिशतको हाराहारीमा हुने गर्थ्यो भने वास्तविक खर्च २२ देखि २४ प्रतिशत मात्र हुने गरेको थियो ।
‘भूकम्पपछि पुनर्निर्माणका नाममा बजेटको आकार ह्वात्तै बढाएर जीडीपीको ३७ प्रतिशतसम्म पुर्याइयो,’ अर्थमन्त्रीले भने, ‘बजेटहरू निकै ठूला त भए, तर सोही अनुपातमा कार्यान्वयन हुन सकेनन् ।’
उनले ठूलो बजेट घोषणा गर्ने तर खर्च गर्न नसक्ने प्रवृत्तिले अर्थतन्त्रमा सुधार नदेखिएको उल्लेख गरे । यसपटक सरकारले विगतको गल्ती सच्याउँदै बजेटलाई भूकम्पअगाडिकै ट्रेन्डमा फर्काउने प्रयास गरेको उनले दाबी गरे ।
‘हाम्रो चाहना नै सानो र कार्यान्वयन गर्न सकिने बजेट बनाउने थियो,’ उनले थपे, ‘अहिलेको बजेट प्रक्षेपित जीडीपीको २८ प्रतिशत मात्र छ, जुन पूर्ण रूपमा कार्यान्वयनयोग्य छ ।’





प्रतिक्रिया