इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावितः संयुक्त राष्ट्रसंघ

35
Shares

दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपत्कालीन उद्धार कार्य तथा राहत सामग्री वितरणमा गम्भीर अवरोध सिर्जना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयका अनुसार, बिहीबार दक्षिणी लेबनानको नाबाटिये क्षेत्रमा भएको आक्रमणले मार्जायौन जिल्लाको एक प्रमुख सडकमा क्षति पुर्‍याएको छ । उक्त सडक घाइतेहरूको उद्धार, राहतकर्मीहरूको आवतजावत तथा सर्वसाधारणलाई अत्यावश्यक वस्तु तथा सेवामा पहुँच पुर्‍याउन महत्वपूर्ण मानिन्छ ।

स्थानीय स्रोतहरूका अनुसार, दक्षिणी क्षेत्रको माराकाह नगरपालिकामा भएको छुट्टाछुट्टै हवाई आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै, अल–बस प्यालेस्टिनी शरणार्थी शिविरमा तीन जनाको ज्यान गएको र करिब ३७ जना घाइते भएका छन् ।

बारम्बार जारी गरिएका विस्थापन आदेशका कारण धेरै परिवारहरू घर छोड्न बाध्य भएका छन्। सुरक्षा अवस्था परिवर्तन भइरहँदा उनीहरू पुनः फर्किने र फेरि विस्थापित हुने अवस्था दोहोरिएको छ । टायर सहरका आश्रयस्थलहरू भरिइसकेको बताइएको छ भने धेरै विस्थापित परिवारहरू उत्तरतर्फ सर्न थालेका छन् ।

संयुक्त राष्ट्रसंघले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि आफ्ना साझेदार संस्थामार्फत देशभर जीवनरक्षक सहायता उपलब्ध गराइरहेको जनाएको छ ।

मार्च २ यता विश्व खाद्य कार्यक्रम र साझेदार संस्थाहरूले द्वन्द्व प्रभावित समुदायलाई एक करोड १० लाखभन्दा बढी तातो तथा चिसो भोजन वितरण गरेका छन् । साथै, शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय र साझेदारहरूले विस्थापित परिवारलाई एक लाख ७० हजारभन्दा बढी कम्बल र एक लाख ३० हजार गद्दा उपलब्ध गराएका छन् ।

लेबनानका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक इमरान रिजाले देशभर बढ्दो हिंसा र विस्थापन आदेशका कारण समुदायहरूमा परेको असरप्रति गहिरो चिन्ता व्यक्तरेका छन् । उनले विस्थापन आदेश जारी भएका क्षेत्रबाट भाग्ने क्रममा सर्वसाधारण पनि हवाई आक्रमणको सिकार बनेको जानकारी प्राप्त भएको बताए ।

संयुक्त राष्ट्रसंघका अनुसार, लेबनानी सरकारी तथ्याङ्कले मार्च २ यता कम्तीमा ३ हजार ३५५ जनाको मृत्यु भएको र १० हजार ९५ जना घाइते भएको देखाएको छ ।