
काठमााडैं । सुन तथा सुनका गरगहनामा लगाएको विलाशिता शुल्कमा विवाद भएपछि गत वर्ष नै पछि हटेको सरकारले यसपटक सुनचाँदीको गहनामा नयाँ शुल्क लगाएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संसदमा पेश गरेको आर्थिक विधेयक मार्फत सुन चाँदी र त्यसका गरगहनामा सिप प्रवर्धन शुल्क लगाएको हो ।
‘नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तुहरूको बिक्री गर्दा त्यस्तो बिक्रीमा अनुसूची– ६ बमोजिम सिप प्रवद्र्धन शुल्क लगाई असुल गरिनेछ। सिप प्रवर्धन शुल्कको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ,’ आर्थिक विधेयक २०८३ को दफा १४ मा भनिएको छ।
सोही दफा कार्यान्वयन सम्बन्धी व्यवस्था अनुसुची ६ मा छ । आर्थिक विधेयकको अनुसुची ६ मा सुन र सुनका गरगहहना तथा चाँदी र चाँदीका गरगहनामा ०.५ प्रतिशत सिप प्रवर्धन शुल्क लगाउने उल्लेख छ । ‘नेपालमा उपभोग हुने सुन वा सुनका गरगहना तथा चाँदी वा चाँदीका गरगहनामा अन्तिम उपभोक्तालाई विक्री गर्दाको विक्री मूल्यमा र शून्य दशमलव पाँच प्रतिशतका दरले सिप प्रवद्र्धन शुल्क लगाई असुल गरिनेछ,’ आर्थिक विधेयक २०८३ को अनुसुची ६ मा भनिएको छ ।
सुन र चाँदी दुबैको गरगहना वा वस्तु अन्तिम उपभोक्तालाई बिक्री गर्दा सिप प्रवर्धन शुल्क असुल गर्ने उल्लेख छ । यसरी असुल गरेको शुल्क अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिल गरी यस्तो विवरण सो महिनामा कारोबार गरेको वा नगरेको जेसुकै भएपनि सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्ने आर्थिक विधेयकमा उल्लेख छ ।





प्रतिक्रिया