‘पुँजीबजार सुधार र लगानीमैत्री वातावरण निर्माणमा सहयोग गर्ने बजेट आयो’

364
Shares

काठमाडौं । नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३र८४ को बजेटप्रति नेपाल स्टक ब्रोकर एसोसिएसनले सकारात्मक प्रतिक्रिया जनाएको छ ।

विशेषगरी पुँजीबजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय नेपाली लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुवातसम्बन्धी घोषणालाई ब्रोकर समुदायले ऐतिहासिक तथा दूरदर्शी कदमका रूपमा व्याख्या गरेको छ ।

उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का कार्यकारिणी समिति सदस्य तथा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटले नेपालको पुँजीबजार सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताएका हुन् ।

उनले भने, ‘यस वर्षको बजेटले नेपालको पूँजी बजारलाई केवल सेयर कारोबारको माध्यमका रूपमा होइन, राष्ट्रिय अर्थतन्त्रको विकास साझेदारका रूपमा स्वीकार गरेको देखिन्छ । सरकारले पूँजी बजार सुधारलाई प्राथमिकतामा राख्दै आधुनिक वित्तीय उपकरण, लगानीकर्ता संरक्षण तथा बजार विस्तारलाई जोड दिनु अत्यन्त सकारात्मक विषय हो ।’

बजेटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचना, इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा डेरिभेटिभ उपकरण चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरिएको छ । अध्यक्ष सागर ढकालले यी व्यवस्थाले नेपाली पुँजीबजारलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

‘इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता अन्तर्राष्ट्रिय अभ्यासमा आधारित उपकरणको सुरुवातले बजारमा तरलता बढाउनुका साथै संस्थागत लगानी र बजारको प्रभावकारितासमेत वृद्धि गर्नेछ । यसले नेपाली पुँजीबजारलाई थप परिपक्व, विश्वसनीय र प्रतिस्पर्धी बनाउने अपेक्षा गरेका छौँ ।’

बजेटमा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने कानुनी व्यवस्था परिमार्जन गर्ने घोषणा गरिएको विषयलाई पनि अध्यक्ष ढकालले अत्यन्त महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।

त्यसैगरी सूचीकृत कम्पनीको सेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने निर्णयले लगानीकर्तामा रहेको करसम्बन्धी अन्योल हट्ने अध्यक्ष ढकालको भनाइ छ ।

उनले सरकारद्वारा इनसाइडर ट्रेडिङ तथा सेयर कर्नरिङविरुद्ध लिइएको शून्य सहनशीलताको नीतिलाई पनि स्वागत गरे । ढकालले निजी क्षेत्र, सरकार र नियामक निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए ।