श्रीलंका सरकारद्वारा नेपाली पर्यटकलाई ३० दिनको लागि निःशुल्क ‘टुरिस्ट भिसा ईटीए’ दिने घोषणा

259
Shares

काठमाडौं । श्रीलंकाले नेपाली नागरिकलाई निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन–ईटीए) उपलब्ध गराउने घोषणा गरेको छ।

काठमाडौंस्थित श्रीलंकाली दूतावासले सार्वजनिक गरेको सूचनाअनुसार नेपालसहित ४० देशका नागरिकका लागि यो सुविधा लागू गरिएको हो।

दूतावासका अनुसार पर्यटन प्रयोजनका लागि श्रीलंका जाने नेपाली नागरिकले अब ३० दिन अवधिको डबल–एन्ट्री टुरिस्ट भिसा (ईटीए) निःशुल्क प्राप्त गर्न सक्नेछन्। यो व्यवस्था २०२६ मे २५ देखि लागू भएको जनाइएको छ।

श्रीलंकाली दूतावासले यात्रुहरूलाई श्रीलंका पुग्नुअघि नै आधिकारिक सूचना वेबसाइटमार्फतप्राप्त गर्न आग्रह गरेको छ। आवश्यक जानकारीका लागि काठमाडौंस्थित श्रीलंकाली दूतावासमा पनि सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

दूतावासले यस सम्बन्धमा थप जानकारी तथा सहजीकरणका लागि आफूहरू उपलब्ध रहने जनाएको छ।