साओमीले ल्यायो इलेक्ट्रिक एसयूभी वाईयू७ को नयाँ संस्करण, मूल्य ५२ लाख रुपैयाँ

147
Shares

एजेन्सी । चिनियाँ प्रविधि कम्पनी साओमीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी वाईयू७ को नयाँ र सस्तो संस्करण स्ट्यान्डर्ड एडिसनको डेलिभरी चीनमा सुरु गरेको कारन्युजचाइनाले जनाएको छ ।

यस नयाँ मोडलको मूल्य २ लाख ३५ हजार ५०० युआन (५२ लाख रुपैयाँ) तोकिएको छ जुन यसअघिको सुरुवाती मोडलभन्दा २० हजार युआन सस्तो हो ।

साओमीले यो सस्तो मोडल गत जेठ ८ मा उच्च कार्यक्षमता भएको वाईयू७ जीटी संस्करणसँगै बजारमा उतारेको हो । कम्पनीले आफ्नो पहिलो एसयूभीको बिक्रीमा आइरहेको गिरावटलाई रोक्न यो रणनीति अपनाएको हो ।

चाइना ईभी डेटा ट्य्राकरका अनुसार, सन् २०२६ को जनवरीदेखि साओमीको बिक्रीमा मासिक रूपमा कमी आइरहेको छ ।

अप्रिलमा साओमीले ९ हजार ८ सय ७६ युनिट मात्र डेलिभरी गरेको थियो जुन मार्चको तुलनामा २७.२ प्रतिशतले कम हो ।

नयाँ वाईयू७ स्ट्यान्डर्ड एडिसनमा रियर एक्सेलमा एउटा मात्र इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसले २३५ किलोवाट (३१५ हर्सपावर) शक्ति पैदा गर्छ । यसमा क्याटल कम्पनीले निर्माण गरेको ७३ किलोवाट–आवरको ब्याट्री छ । एकपटकको फुल चार्जमा यसले ६४३ किलोमिटर सम्मको यात्रा तय गर्न सक्छ ।

यो एसयूभी शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ५.९ सेकेन्डमा तय गर्न सक्षम छ भने यसको अधिकतम गति २२० किलोमिटर प्रतिघण्टा रहेको छ । तुलनात्मक रूपमा महँगो लङ रेन्ज मोडलमा ९६.३ किलोवाट–आवरको ठूलो ब्याट्री प्याक उपलब्ध छ ।

प्रविधिको हिसाबले यो गाडी निकै अगाडि छ । यसमा एनभिडिया थोर चिप प्रयोग गरिएको छ जसको कम्प्युटिङ पावर ७०० टीओपीएस रहेको छ । गाडीमा सुरक्षा र यात्रा सहज बनाउन लिडार सेन्सर, ४डी रेडार, ११ वटा क्यामरा र १२ वटा अल्ट्रासोनिक सेन्सरहरू राखिएका छन् ।

गाडीको भित्री भागमा १.१ मिटर चौडा हाइपरभिजन स्क्रिन, चाँदीको जलप लगाइएको पानोरामिक छत र उच्च भोल्टेजको सिलिकन कार्बाइड प्रणाली जस्ता सुविधाहरू छन् । झण्डै ५ मिटर लामो र २ मिटर चौडा यो एसयूभीको ह्विलबेस ३ हजार मिलिमिटर छ जसले भित्र प्रशस्त ठाउँ प्रदान गर्छ ।

साओमी अटोले अर्डर गरेको मात्र दुई घण्टाभित्रै ग्राहकले गाडी बुझ्न सक्ने गरी डेलिभरी व्यवस्था मिलाएको जानकारी दिएको छ । यसका साथै नयाँ ग्राहकहरूलाई आकर्षित गर्न ५ वर्षको न्यून ब्याजदरमा फाइनान्स सुविधा र गाडीको रंगमा ३ हजार युआन छुट जस्ता अफरहरू पनि ल्याइएको छ ।

घट्दो बजार र तीव्र प्रतिस्पर्धाका बीच साओमीको यो सस्तो संस्करणले चिनियाँ इलेक्ट्रिक गाडीको बजारमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी नै छ ।