भन्सार भ्यालुएसन डाटाबेसमा अन्तर्राष्ट्रिय बजार मूल्य समावेश

420
Shares

काठमाडौं । भन्सार विभागले कस्टम भ्यालुएसन डाटाबेस सिस्टममा अन्तर्राष्ट्रिय बजार मूल्य सम्बन्धी सूची समावेश गर्ने प्रक्रिया सुरू गरेको छ । 

विभागले उक्त प्रणालीलाई थप प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय बजार मूल्य हेर्न मिल्ने व्यवस्था विकास गरी कार्यान्वयनमा ल्याएको हो ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । 

अर्थमन्त्री वाग्लेले प्रणाली कार्यान्वयनपछि अन्तर्राष्ट्रिय व्यापारमा थप सहजीकरण हुने, भन्सार मूल्याङ्कन प्रणाली अझ पारदर्शी र यथार्थपरक बन्ने बताएका थिए।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव, राजस्व सचिव, राजस्व व्यवस्थापन महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, एसियाली विकास बैंकका परामर्शदाता तथा विभागका सम्बन्धित कर्मचारीहरूको उपस्थिति थियो ।

भन्सार विभागका अनुसार यसअघि २०८२ असोज ८ गते विराटनगर भन्सार कार्यालयबाट  कस्टम भ्यालुएसन डाटाबेस सिस्टमको कार्यान्वयन सुरू गरिएको थियो । 

त्यसपछि २०८२  पुस १८ गतेबाट आशिकुडा प्रणाली लागू भएका सबै भन्सार कार्यालयहरूमा यो प्रणाली विस्तार गरिएको विभागले जनाएको छ ।

विभागले यो प्रणाली कार्यान्वयनसँगै विश्व व्यापार संगठनको मूल्याङ्कन सम्बन्धी सम्झौता गट भ्यालुसनको पूर्ण रूपमा कार्यान्वयन गर्न तथा पैठारी हुने वस्तुको कारोबार मूल्य निर्धारणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।