हावाहुरीले विद्युत आपूर्तिमा अवरोधपछि प्राधिकरणको टोली फिल्डमा

77
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्न गई देशका केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भए पछि केही क्षेत्रमा भोल्टेजमा उतारचढाव र ट्रिपिङको समस्या देखिएपछि त्यसको समाधानका लागि आफ्ना प्राविधिक टोलीलाई उच्च प्राथमिकताका साथ परिचालन गरेको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले एक विज्ञप्ति जारी गर्दै प्रसारण लाइनमा परेको प्रभावपछि प्राविधिक टोलीलाई उच्च प्राथमिकताका साथ परिचालन गरेर समाधान गर्दै अघि बढिरहेको जानकारी दिए ।

‘पिलुवा (पथलैया)– चन्द्रनिगाहपुर खण्डको टावर नम्बर १२२–१२३ को बीचमा ढलेको रुख हटाइसकिएको छ र हाल सर्किट चार्ज गर्ने प्रक्रिया अघि बढाइएको छ,’ ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘त्यसैगरी टावर नम्बर १३६ र १३७ को बीचमा ढलेका तीनओटा रुखहरु प्राधिकरणले शनिबार रातिनै ती तीनवटै रुखहरू हटाई विद्युत प्रवाह सुचारु गरिएको छ ।’

उनले जारी गरेको विज्ञप्तिमा अमलेखगञ्ज–कमने खण्डको टावर नम्बर ४६ र ४७ को बीचमा रुख ढल्दा एचटीएलएस कन्डक्टरमा क्षति पुगेको र यो प्राविधिक रुपमा जटिल समस्या भएकाले समाधानका लागि प्राधिकरणको एचटीएलएस विशेषज्ञसहितको प्राविधिक टोली आइतबार बिहानै अमलेखगञ्ज–कमाने घटनास्थलमा पुगेर स्ट्रिङिङको काम सुरु गरिसकेको उल्लेख गरिएको छ ।