
एजेन्सी । ह्युन्डाई मोटरले सफ्टवेयरमा आएको त्रुटिका कारण अमेरिकामा ४ लाख २१ हजार ७८ वटा सवारीसाधनहरू फिर्ता बोलाउने भएको छ । उक्त त्रुटिका कारण अचानक ब्रेक लाग्न सक्ने सम्भावना रहन्छ ।
अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले शुक्रबार यसबारे जानकारी दिएको हो ।
यस रिकलमा सन् २०२५–२०२६ मोडलका केही सान्ता क्रुज, टुसान, टुसान हाइब्रिड र टुसान प्लग–इन हाइब्रिड इलेक्ट्रिक सवारी साधनहरू समावेश छन् ।
सवारी सुरक्षा निकायका अनुसार, गाडीको अगाडिको क्यामरामा रहेको सफ्टवेयर त्रुटिले फरवार्ड कोलिजन अभोइडेन्स सिस्टम (अगाडि ठोक्किनबाट बचाउने प्रणाली) लाई समय नपुग्दै सक्रिय बनाउन सक्छ र अचानक ब्रेक लाग्न सक्छ । यसले गर्दा दुर्घटनाको जोखिम बढ्छ ।
डिलरहरूले अगाडिको क्यामराको सफ्टवेयर निःशुल्क अपडेट गरिदिनेछन् भनी नियामक निकायले थपेको छ ।
यसै हप्ताको सुरुमा गाडी निर्माताले हाइब्रिड पावर कन्ट्रोल युनिटमा अत्यधिक तातो हुने समस्याका कारण आगो लाग्न सक्ने जोखिम देखिएपछि अमेरिकामा ५४ हजारभन्दा बढी सवारीसाधनहरू फिर्ता बोलाएको थियो ।





प्रतिक्रिया