तस्करीबाट भित्रिएको भारतीय चिनी बजारमा, नेपाली उद्योगको ११ हजार क्विन्टल चिनी कहाँ गयो ?


विराटनगर । भारतले चिनी निकासीमा रोक लगाएपछि स्थानीय उद्योगबाट सयौं क्विन्टल स्वदेशी चिनी बाहिरिए पनि बजारमा उपलब्ध छैन । यस्तो अवस्थामा पूर्वी नेपालका स्थानीय बजार यस बेला तस्करीबाट भित्रिएको भारतीय चिनीले नै धान्दै आएको पाइएको छ ।

भारतले चिनी निकासीमा रोक लगाएको दुई सातामा पूर्वको एकमात्र चिनी उद्योग इस्टर्न सुगर मिलबाट विभिन्न व्यापारी र उद्योगीका नाममा ११ हजार ४७० क्विन्टल चिनी बाहिरिएको तथ्यांक छ । त्यो चिनी बजारमा उपलब्ध नहुँदा तस्करीबाट भित्रिएको भारतीय उत्पादनले स्थानीय उपभोक्ताको गर्जो टर्दै आएको छ ।

दुई सातामा इस्टर्न सुगर मिलबाट विराटनगरका व्यापारिक फर्ममा ३ हजार ११५ क्विन्टल, सुनसरीमा २ हजार ४१० क्विन्टल, झापामा १ हजार ३८० क्विन्टल, काठमाडौँमा ३ हजार ५७० क्विन्टल, सिन्धुली २१०, नारायणगढ ४२०, धनकुटा ३१५ र मुडेमा ५० क्विन्टल चिनी गएको तथ्यांक छ ।

इस्टर्न सुगर मिलबाट व्यापारीका नाममा बाहिरिएको चिनी कहाँ जान्छ भन्नेबारे स्थानीय प्रशासन र वाणिज्य कार्यालयको अनुगमन टोली बेखबर छ ।

बिस्कुट, कन्फेसनरी तथा जुस उद्योगका नाममा बाहिरिएको चिनी उद्योगमै खपत भएको विश्वास गरिन्छ। तर झन्डै दुई दर्जन व्यापारिक फर्मका नाममा उद्योगबाट निस्किएको चिनी बजारमा उपलब्ध नहुँदा उपभोक्ता तस्करीको चिनीमा निर्भर छन् ।

‘स्वदेशी चिनी पाइँदै पाइँदैन, तस्करीबाट आएको भारतीय चिनी बिक्री गर्दै छौँ,’ विराटनगर कञ्चनबारीका एक थोक व्यापारीले क्लिकमान्डुसँग भने, ‘भारतमा पनि किलोमा दुईदेखि तीन रुपैयाँसम्म भाउ बढेर अहिले ७५/७६ पुगेको छ । त्यही चिनी तस्करी भएर यहाँ आइपुग्दा किलोको ९० रुपैयाँ पर्छ । हामी ९५ रुपैयाँमा बिक्री गर्छौं ।’

बजारमा व्यापारीले चिनीमा ‘कार्टेलिङ’ गरेको गुनासो बढेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको बुझाइ छ । ‘ठूला व्यापारीले उद्योगबाट चिनी ल्याएर कार्टेलिङ गरेको गुनासो आएको छ,’ उनले भने, ‘यसका लागि स्थानीय प्रशासन र वाणिज्य कार्यालयले अनुगमन र अनुसन्धान गर्दै छ । चिनीमा कार्टेलिङ गर्ने र मूल्य वृद्धिका लागि कृत्रिम अभाव गराउने व्यापारीलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुन्छ ।’

उद्योगबाट चिनी निकाल्ने व्यापारीहरूमा विराटनगरका सरश्याम सप्लायर्स, श्री साउमिक इन्टरनेशनल प्रालि, मनु स्टोर, जयगुरु कृष्ण स्टोर, लक्की ब्रदर्स एन्ड ब्रदर्स, ऐश्वर्य ट्रेड सेन्टर र अजय किराना पसल छन् भने उद्योगहरूमा एशियन बिस्कुट एन्ड कन्फेसनरी लिमिटेड, एशियन थाई फुड्स लिमिटेड, क्वालिटी थाई फुड्स र दुगड स्पाइस एन्ड फुड्स प्रालि छन् ।

यस बेला जोगबनीबाट सर्वसाधारणलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पनि चिनी ल्याउन दिँदैन । एसएसबीले एक जनालाई बढीमा २ किलो मात्र ल्याउन दिन्छ । नेपाली सुरक्षाकर्मीले पनि सय रुपैयाँभन्दा बढीका सामान ल्याए भन्सार तिराउँदा सर्वसाधारण पीडित हुँदै आएका छन् ।

सीमा क्षेत्रका उपभोक्ता महमद समिर भन्छन्, ‘तर रातभरि ट्रकबाट भित्रिने चिनी भारतीय सीमा सुरक्षा बल र नेपाली सुरक्षा निकायले देख्दैनन् । मटेरुवा र सुगर मिल नाकाबाट हरेक रात ट्रक, ट्याक्टर र ठेलामा चिनी लगायतका उपभोग्य वस्तु र लत्ताकपडा तस्करी हुन्छ । सुरक्षाकर्मी दिउँसो सर्वसाधारणको झोलामा रहेको दुई किलो चिनी देख्छन्, तर राति ट्रकमा भित्रिने चिनी देख्दैनन् ।’

अर्का एक व्यापारीका अनुसार ठूला व्यापारीले स्थानीय उद्योगबाट चिनी ल्याएर कार्टेलिङ गरिरहेका छन् । उनीहरूले ९० रुपैयाँमा किनेको चिनी ९५/९७ रुपैयाँमा बिक्री गर्छन्, तर त्यो मूल्यमा पनि साना व्यापारीलाई दिँदैनन् ।

भारतबाट चिनी आयात बन्द भएसँगै स्थानीय चिनी उद्योगले प्रतिकिलो फ्याक्ट्री मूल्य ८८ रुपैयाँ ५० पैसामा पाइने चिनीको मूल्य ९० रुपैयाँ ५० पैसा पुर्‍याएका थिए । इस्टर्न सुगर मिल स्रोतका अनुसार यस बेला दैनिक ५ सय क्विन्टलभन्दा बढी चिनी औसत ९० रुपैयाँका दरले बजारमा गइरहेको छ ।

भन्सारबाट भारतीय चिनी आउन छाडेपछि यसको तस्करी दोब्बरले बढेको छ । निकासीमा रोक लागेसँगै सीमावर्ती भारतीय बजारमै चिनीको मूल्य प्रतिकिलो ३ रुपैयाँले बढेको छ । दुई साताअघि जोगबनीमा ७२ रुपैयाँ किलोमा पाइने चिनी अहिले ७५ रुपैयाँ पुगेको छ । ७५ रुपैयाँको चिनी तस्करी भई नेपाली बजारमा पुग्दा किलोको ९५ रुपैयाँमा हारालुछ बिक्री भइरहेको छ ।

भारतले चिनी निर्यातमा रोक लगाए लगत्तै निजी क्षेत्र र सरकारले ८ महिनालाई पुग्ने चिनी मौज्दात रहेको र मूल्य वृद्धि नहुने भन्दै सर्वसाधारणलाई आश्वस्त पारेका थिए । नेपाल चिनी उत्पादक संघले चालु क्रसिङ सिजनमा देशका १३ वटा चिनी उद्योगले १ लाख ९० हजार ८७० टन चिनी उत्पादन गरेको र त्यसमध्ये १ लाख ८ टन मौज्दात रहेकाले अभाव नहुने दाबी गरेको थियो ।

त्यस बेला बजारमा व्यवसायीसँग करिब २० हजार टन र ७० हजार टन आयातित चिनी मौज्दात रहेको संघको दाबी थियो । तर, एक व्यवसायीका अनुसार स्वदेशी चिनी उत्पादकहरूले सरकारलाई गलत तथ्याङ्क देखाएर कृत्रिम अभाव सिर्जना गरी बढी नाफा लिइरहेका छन् ।

गत वर्ष स्वदेशी उद्योगले १ लाख ९० हजार टन चिनी उत्पादन गरेका थिए भने यसपालि पनि सोही हाराहारीमा उत्पादन भएको छ । जबकि नेपालको वार्षिक खपत ३ लाख टनभन्दा बढी छ । खपतको आधा मात्र स्वदेशमा उत्पादन हुने र बाँकी आयात नहुँदा हाहाकार हुने स्थिति छ । ‘यही अवस्था रहे चिनीको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुग्न सक्छ,’ ती व्यवसायीले चेतावनी दिए ।

चिनी आयातमा सरकारले १५ प्रतिशत भन्सार महसुल र भ्याट लिँदै आएको छ । यसले गर्दा भारतको तुलनामा नेपालमा चिनीको मूल्य प्रतिकिलो कम्तीमा २० रुपैयाँ महँगो हुने हुँदा तस्करी मौलाएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ९२ करोड १० लाख मूल्यको ४३ हजार ४०२ टन चिनी आयात भएको छ । गत वर्ष सोही अवधिमा १ अर्ब ६४ करोड १ लाख मूल्यको २३ हजार १७५ टन चिनी आयात गरिएको थियो । त्यसबाहेक खपत हुने ठुलो परिमाणको भारतीय चिनी तस्करीबाटै भित्रिने गरेको उद्योगीहरूको दाबी छ ।