सहकारी विभागले भन्यो: सहकारी बैंकको चुनावमा राजनीतिक प्यानल बनाएर प्रतिस्पर्धा नगर्नू

84
Shares

काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थाहरूको निर्वाचनमा राजनीतिक दलहरूले दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले सहकारीको मर्म र मूल्य–मान्यतामा आँच पुग्ने बताएको हो ।

विभागका अनुसार राष्ट्रिय सहकारी बैंक लगायतका विभिन्न सहकारी संघ संस्थाहरूको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक हस्तक्षेप बढ्दै गएको र दलीय आधारमा प्यानल बनाएर चुनाव लड्ने गरिएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

‘सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्त विपरीत यस्ता गतिविधिहरूबाट सहकारी ऐन, २०७४ को प्रस्तावना र कानुनी व्यवस्थालाई प्रतिकूल असर पार्नुका साथै सहकारीका सदस्यहरूमा अस्वस्थ प्रतिस्पर्धा बढ्न जाने र सहकारी क्षेत्रमा सुशासन कायम गराउनमा समेत नकारात्मक असर पुग्ने देखिन्छ,’ विभागले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

विभागका सूचना अधिकारी सुचित्रा राईद्वारा जारी विज्ञप्तिमा सहकारीको मर्म अनुसार सञ्चालन हुने वातावरण निर्माण गर्न र सुशासन कायम गर्न यस्ता खालका गतिविधिहरूलाई निरुत्साहित गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ ।

सहकारीलाई राजनीतिक प्रभावबाट मुक्त राखी सदस्यहरूको हित र सहकारीको सिद्धान्त अनुसार अगाडि बढाउन विभागले अनुरोध गरेको छ ।