
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आकर्षण देखिएको छ ।
मागभन्दा अत्यधिक आवेदन परेपछि योजनाको इकाई बिक्री आवेदन निर्धारित समयअघि नै बन्द गरिएको कम्पनीले जनाएको छ ।
लक्ष्मी सनराइज बैक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस बन्दमुखी सामूहिक लगानी योजनाको १२ करोड इकाई बिक्रीका लागि वैशाख ३० गतेदेखि सार्वजनिक निष्कासन खुला गरिएको थियो ।
तर, बिक्री खुला भएको ६ कार्यदिनभित्रै १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बराबरको आवेदन प्राप्त भएपछि आजदेखि आवेदन प्रक्रिया बन्द गरिएको हो ।
योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ८० लाख इकाई लक्ष्मी सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिएको थियो।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाका आस्वा सेवा केन्द्रमार्फत संकलन गरिएको थियो ।
कम्पनीका अनुसार छोटो अवधिमै योजनाप्रति प्राप्त उत्साहजनक सहभागिताले नेपाली पूँजी बजारप्रति लगानीकर्ताको विश्वास अझ मजबुत बन्दै गएको संकेत गरेको छ ।
उक्त योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले नै निर्वाह गरेको हो ।





प्रतिक्रिया