शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

49
Shares

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।

यी पदहरूमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार (जेठ ७ गते) सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।

गत जेठ ५ गते स्वीकृत भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम यो दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।

इच्छुक उम्मेदवारले सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ। आवेदन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनलाई अन्तिम म्याद मानिने सूचनामा उल्लेख छ ।

सूचनाका अनुसार, शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र आवेदन दर्ता गराउनुपर्नेछ। आवेदन सोही कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा पेस गर्नुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।