
विराटनगर । भारतले चिनी निकासीमा रोक लगाएको साता नबित्दै नेपालमा चिनीको कृत्रिम मूल्य वृद्धि भएको छ । मूल्य वृद्धि भए पनि बजारमा चिनी उपलब्ध नहुँदा सर्वसाधारण लगायत जुस, बिस्कुट र कन्फेक्सनरी लगायतका उद्योग प्रभावित बनेका छन् । यस बेला विराटनगर लगायत आसपासका बजारमा चिनी उपलब्ध छैन ।
भारतले चिनी निकासीमा रोक लगाएको दिनसम्म स्वदेशमा उत्पादित चिनीको फ्याक्ट्री मूल्य प्रति किलो भ्याटसहित ८८ रुपैयाँ ५० पैसामा थियो । त्यसै दिन यहाँका चिनी उद्योगीले किलोमा २ रुपैयाँ मूल्य बढाएका थिए । त्यसबेला भारतीय चिनी बजारमा प्रति किलो ७५ रुपैयाँ थियो । यसबेला चिनीको मूल्य प्रति किलो ९५ रुपैयाँ पुगेको छ तर बजारमा उपलब्ध छैन ।
गुडलाइफ ब्रान्डको बिस्कुटका उत्पादक तथा एसियन बिस्कुटका निर्देशक महेश जाजूले भने, ‘भारतले चिनी निकासीमा रोक लगाए लगत्तै स्वदेशी चिनी उद्योगले कृत्रिम मूल्य वृद्धि गरेर बजारमा चिनी नै उपलब्ध गरेका छैनन्।’
भारतले चिनी निकासीमा रोक लगाएकै दिन उद्योगीले प्रति किलोमा २ रुपैयाँ मूल्य गरेर प्रति किलो ९० रुपैयाँ पुर्याएका थिए । अहिले होलसेल मूल्यमा ५ रुपैयाँ बढाएर ९५ रुपैयाँ पुर्याएर बजारमा चिनीको कृत्रिम अभाव गरेको जाजुको भनाइ छ ।
एक सातामा चिनीको मूल्य प्रति किलो ७ रुपैयाँले बढेको छ । किराना पसल सञ्चालक राम सुवेदीले भने, ‘बजारमा चिनी नै उपलब्ध छैन । यसबेला बजारमा एक दाना पनि चिनी पाइँदैन,’ सुवेदीले भने, ‘स्वदेशी चिनी पाइँदै पाइँदैन । भारतको जोगवनीबाट चिनी ल्याउनै दिँदैन ।’
मोरङ प्रशासनले यसबेला भारतको जोगवनी बजारबाट घरायसी उपभोगका लागि पनि चिनी ल्याउन रोक लगाएको छ ।
चिनीको मूल्यवृद्धिसँग भएको कृत्रिम अभावले जुस, बिस्कुट र कन्फेक्सनरी उद्योग स्वतः प्रभावित भएका छन् । उद्योगी जाजुले भने, ‘भारतले चिनी निकासीमा रोक लगाएपछि सरकार र चिनी उत्पादकहरूले ८ महिनासम्म पुग्ने चिनीको मौज्दात रहेको मात्र नभएर मूल्य वृद्धि नहुने र अभाव पनि नहुने उद्घोष गरेका थिए,’ जाजुले भने, ‘सबै झुट मात्र रहेछ ।’
भारतले चिनी निर्यातमा रोक लगाए लगत्तै नेपाली बजारमा पर्न सक्ने सम्भावित असरका बारेमा निजी क्षेत्र र सरकारले आ-आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै ८ महिनासम्म पुग्ने चिनी मौज्दात रहेको बताउँदै मूल्य वृद्धि पनि नहुने भन्दै सर्वसाधारणलाई आश्वस्त पारेका थिए ।
नेपाल चिनी उत्पादक संघले मुलुकमा चालू क्रसिङ सिजनमा देशका १३ वटा चिनी उद्योगले १ लाख ९० हजार ८७० टन चिनी उत्पादन गरेको र त्यसमध्ये १ लाख ८ टन चिनी मौज्दात रहँदा बजारमा कृत्रिम अभाव र मूल्य वृद्धि नहुने बताएको थियो ।
त्यसबेल बजारमा व्यवसायीसँग करिब २० हजार टन मौज्दात रहेको र करिब ७० हजार टन आयातित चिनी मौज्दात रहेको संघको दाबी थियो । एक उद्योगीले भने, “स्वदेशी चिनी उत्पादकहरूले सरकारसँग नक्कली तथ्याङ्क देखाएर चिनीमा मूल्य वृद्धि मात्र नभएर कृत्रिम अभाव गर्न सफल भए ।”
मन्त्रीलाई साक्षी राखेर चिनी उत्पादक उद्योगीहरूले कारखाना मूल्यमा कुनै उल्लेखनीय वृद्धि नगर्ने र बजारमा चिनीको सुलभ र सहज आपूर्ति गर्ने प्रतिबद्धता गरेका थिए । ती उद्योगीले भने, ‘चिनी उद्योगीले सातामा प्रति किलोमा ७ रुपैयाँसम्म मूल्यवृद्धि मात्र गरेका छैनन्, बजारमा चिनीको कृत्रिम अभाव पनि गरेका छन् ।’
गत वर्ष स्वदेशी चिनी उद्योगले १ लाख ९० हजार टन चिनी उत्पादन गरेका थिए । यसपालि पनि त्यसकै हाराहारीमा चिनी उत्पादन भएको छ । जब कि मुलुकमा चिनीको खपत ३ लाख टनभन्दा बढी छ । जाजुले खपतको आधा मात्र स्वदेशमा उत्पादन हुन्छ । बाँकी भारतबाट आयात नभएर हाहाकार हुने स्थिति रहँदा चिनी आयातका लागि सरकारले भारतसँग कुरा गर्नुको विकल्प छैन ।
चिनी आयातमा सरकारले १५ प्रतिशत भन्सार महसुल र भ्याट लिँदै आएको छ । भन्सार महसुल र भ्याटका कारण खपतको आधा चिनी तस्करीबाट भित्रिँदै आएको थियो । जाजुले भने, ‘भारतले चिनी निर्यातमा खुला गरे पनि भन्सार महसुलमा पुनर्विचार नगरे चिनीको तस्करी रोकिने स्थिति छैन ।’
चालू आवको चैत मसान्तसम्ममा २ अर्ब ९२ करोड १० लाख मूल्यको ४३ हजार ४०२ टन चिनी आयात भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ६४ करोड १ लाख मूल्यको २३ हजार १७५ टन चिनी आयात गरिएको थियो । त्यसबाहेक नेपालमा खपत हुने भारतीय चिनी तस्करीबाटै भित्रिने सम्बद्ध उद्योगीहरूको दाबी छ ।
पूर्वको एक मात्र चिनी उद्योग इस्टर्न सुगर मिलले गत वर्ष १८ लाख ५५ हजार क्विन्टल क्रसिङ गरेर १ लाख ४० हजार क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष १ लाख ७३ हजार ८६८ क्विन्टल चिनी उत्पादन गरेको छ ।
उद्योग स्रोतका अनुसार भारतले चिनी निर्यातमा रोक लगाएपछि मिलबाट प्रति किलो सरदर ९० रुपैयाँका दरले दैनिक २-३ ट्रक चिनी बजारमा गइरहेको छ । तर त्यो चिनी व्यापारीले लुकाएर बजारमा कृत्रिम अभाव गरेको पाइएको छ ।





प्रतिक्रिया