अबदेखि अनलाइनबाटै दिन मिल्छ प्रहरीमा उजुरी


काठमाडौं । अबदेखि घरमै बसेर प्रहरी कार्यालयमा उजुरी दिन सकिने भएको छ ।

नेपाल प्रहरीले मंगलबार देखि गुनासो तथा उजुरीहरू अनलाइन माध्यमबाटै दर्ता गर्न सक्ने व्यवस्था सुरू गरेको हो । प्रहरीका अनुसार, घटना वा अपराध भए उजुरी दिन प्रहरी कार्यालयसम्म धाउनुपर्दैन ।

प्रहरी प्रधान कार्यालयले ‘नेपाल पुलिस एप’ सार्वजनिक गर्दै नागरिकलाई डिजिटल माध्यमबाट उजुरी दिने सुविधा उपलब्ध गराएको हो ।

अनलाइनबाट उजुरी दिनका लागि नागरिकले सुरूमा नेपाल प्रहरीको आधिकारिक मोबाइल एप डाउनलोड गर्नु पर्ने हुन्छ । त्यसपछि उक्त एप खोलेर साइन–अप गर्नुपर्छ ।

साइन–अप गरेपछि एपभित्र रहेको ‘रजिस्टर कम्प्लेन’ भन्ने विकल्पमा गई विभिन्न शीर्षकहरूमा उजुरी दिन सकिन्छ । उजुरीसँगै नागरिकले घटनाको प्रमाणहरु फोटो, अडिओ र भिडिओ छन् भने ती प्रमाणहरू समेत अपलोड गर्न सकिने प्रहरीले जनाएको छ ।