भारतले आयातित चियाको अनिवार्य परीक्षणसम्बन्धी व्यवस्था संशोधन गर्यो, नेपाली चिया पुनः निर्यात हुने


काठमाडौं । भारतको टी बोर्ड इण्डियाले आयातित चियाको परीक्षणसम्बन्धी मापदण्डमा संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको छ ।

यो नयाँ निर्देशन सँगै भारततर्फ निर्यातमा भएको अवरोध तत्कालको लागि हटेको छ । भारतले मे १ तारिखदेखि लागु हुने गरी चियाको निर्यातमा नयाँ व्यवस्था गरेको थियो । यसले गर्दा पछिल्लो १ तारिखदेखि आज(बुधबार) सम्म गरी २० दिनमा भारततर्फ नेपालबाट चिया निर्यात भएको थिएन् ।

भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत रहेको बोर्डले २०२६ मे १९ मा ‘कोरिजेन्डम दोश्रो’ जारी गर्दै चिया आयातसम्बन्धी परीक्षण प्रक्रियाको बिषयमा नयाँ निर्देशन जारी गरेको छ ।

बोर्डले यसअघि २०२६ फेब्रुअरी १० मा जारी गरेको निर्देशिका तथा अप्रिल २ को संशोधनअनुसार १ मे २०२६ देखि सबै आयातित चियाको अनिवार्य परीक्षण सुरु गरिएको जनाएको छ ।

जारी संशोधनअनुसार पुनःनिर्यातका लागि आयात गरिने सबै चियाको गुणस्तर सुनिश्चित गर्न टी बोर्ड इण्डियामार्फत अनिवार्य परीक्षण गरिने व्यवस्था गरेको छ । यस्तो परीक्षण फेब्रुअरी १० मा जारी गरिएको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ अनुसार हुने उल्लेख छ ।

यस्तै नयाँ व्यवस्थाको दोश्रो क्लाउजअनुसार, भारतभित्र आन्तरिक बिक्रीका लागि मात्रै आयात गरिने चियाको हकमा भने भन्सार र एफएसएसएआईले आफ्नो जोखिम व्यवस्थापन प्रणालीअनुसार नमुना संकलन गरी परीक्षण प्रक्रिया निरन्तर गर्ने निर्णय गरिएको छ ।

तेश्रो क्लाउजअनुसार बोर्डले आन्तरिक बिक्रीका लागि आयात गरिएका चियाको परीक्षण हालका लागि टी बोर्ड इण्डियाले नगर्ने पनि स्पष्ट पारेको छ । यससम्बन्धी औपचारिक निर्देशन वा स्पष्टिकरण एफएसएसएआईबाट जारी नभएसम्म उक्त व्यवस्था लागू रहने जनाइएको छ ।

नेपाल चिया एशोएिसनका अध्यक्ष कमल मैनालीका अनुसार बोर्डले मंगलबार गरेको ‘कोरिजेन्डम दोश्रो’ व्यवस्थाअनुसार क्लाउज दुई र तेश्रोअनुसार नेपालबाट भारततर्फ भइरहेको चियाको निर्यात प्रक्रिया सहज भएको छ ।

‘क्लाउज दोश्रो र तेश्रोअनुसार अब नेपाली चियालाई भारतीय बजारमा निर्यात गर्न कुनै अवरोध सिर्जना नहुने भएको छ, अब दोश्रो र तेश्रो क्लाउजअनुसार सहज रुपमा भारतमा निर्यात हुनेछ,’ मैनालीले भने ।

त्यसैगरी एसओपीको बुँदा नम्बर ११ पनि संशोधन गरिएको छ । अब सम्बन्धित प्रयोगशालाले नमुना प्राप्त भएको मितिले पाँच दिनभित्र परीक्षण प्रतिवेदन अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो निर्णय एफएसएसएआई, भन्सार विभाग, टी बोर्ड इण्डिया तथा भारतको वाणिज्य विभागबीच २०२६ मे १२ मा भएको संयुक्त बैठकपछि लागू गरिएको बोर्डले जनाएको छ ।

भारतले मे १ तारिखदेखि भारतीय चिया बोर्डले नेपालबाट भारततर्फ हुँदै आएको चियाको निर्यातको हकमा नयाँ व्यवस्था गरेको थियो । उक्त व्यवस्थाका कारण पछिल्लो २० दिनमा ३ ट्रकमा भएको चियाको नमूना परीक्षणको लागि भारत पठाइए पनि हालसम्म परीक्षण प्रतिवेदन नआउँदा चिया निर्यात प्रक्रिया ठप्प थियो ।

भारतले जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणको प्रतिवेदनको व्यवस्था गरेको थियो ।

यसअघि नेपाली चियाको नमुना संकलन आकस्मिक वा आंशिक रूपमा मात्र गरिन्थ्यो । तर १ तारिखदेखि भारत प्रवेश गर्ने हरेक ट्रक र हरेक कन्साइनमेन्टको अनिवार्य रूपमा प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

नयाँ व्यवस्थाअनुसार भारतीय आयातकर्ताहरूले चिया भारत आइपुग्नुभन्दा अगावै ‘टि काउन्सिल’ को पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनरको विवरण र प्रोफोर्मा इनभ्वाइससहितको विस्तृत विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको थियो । त्यसपछि मात्र उनीहरूले ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ प्रदान गर्ने व्यवस्था गरिएको थियो ।

चिया नाकामा आइपुगेको २४ घण्टाभित्र भारतीय चिया बोर्डका अधिकारीहरूले ५००–५०० ग्रामका दुईवटा नमुना संकलन गर्ने र प्रति नमुना परीक्षणको लागि ११ हजार १ सय २० भारतीय रुपैयाँ (करिब १७,८०० नेपाली रुपैयाँ) र त्यसमा थप जीएसटी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको थियो । यसले निकासीको लागत खर्चसमेत निकै बढाएको थियो ।

प्रयोगशालाको रिपोर्ट नआउन्जेल (१४ देखि २० दिनसम्म लाग्न सक्छ) चियालाई तोकिएको छुट्टै गोदाममा राख्नुपर्ने र उक्त अवधिभर न त त्यो चिया बेच्न नपाइने न त पुनः निर्यात नै गर्न पाइने भारतले व्यवस्था गरेको थियो ।

प्रयोगशाला परीक्षणमा चियाको गुणस्तर फेल भएमा आयातकर्ताले थप १५ हजार भारतीय रुपैयाँ तिरेर अर्को प्रयोगशालामा पुनः परीक्षण गराउन पाउने व्यवस्था गरिएको थियो । दोस्रो पटक पनि गुणस्तर परीक्षणमा फेल भएमा उक्त चिया कि त नष्ट गर्नुपर्नेछ वा सम्बन्धित देश (नेपाल) मै फिर्ता पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।

पुनः निर्यातको हकमा पनि नयाँ व्यवस्था गरिएको छ । नेपालबाट ल्याएर भारतले तेस्रो देशमा पठाउने चियाको हकमा ६ महिनाभित्र पठाइसक्नुपर्ने र त्यसमा कम्तीमा ५० प्रतिशत ‘भ्याल्यू एडिसन’ (मूल्य अभिवृद्धि) हुनुपर्ने नियम पनि लगाइएको थियो ।