भारतमा माइक्रोसफ्टले बढाउँदै लगानी, अहिलेसम्मकै ठूलो डाटा सेन्टर पनि छिट्टै सञ्चालनमा आउने


एजेन्सी । विश्वकै अग्रणी प्रविधि कम्पनी माइक्रोसफ्टले भारतमा आफ्नो अहिलेसम्मकै ठूलो डाटा सेन्टर सन् २०२६ को मध्यसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवाको विश्वव्यापी दौडमा आफ्नो वर्चस्व कायम गर्न माइक्रोसफ्टले भारतमा अर्बौँ डलर लगानी गरिरहेको छ ।

माइक्रोसफ्ट इन्डिया र दक्षिण एसियाका अध्यक्ष पुनित चान्दोकका अनुसार भारतमा माइक्रोसफ्टको ‘एज्युर क्लाउड’ र ‘को-पाइलट ३६५’ एआई सहयोगीको माग अत्यधिक छ ।

रोयटर्ससँग कुरा गर्दै चान्दोकले १ अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको भारतलाई माइक्रोसफ्टले एआई व्यवसायका लागि सबैभन्दा नाफामुलक बजारको रूपमा हेरेको बताएका छन् ।

माइक्रोसफ्टले भारतमा आफ्नो लगानीलाई ऐतिहासिक रूपमा बढाएको छ ।

कम्पनीले सन् २०२५ को सुरुमा घोषणा गरेको ३ अर्ब डलरबाहेक गत वर्षको अन्त्यमा थप १७.५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो, जुन माइक्रोसफ्टको एसियाकै ठूलो लगानी हो ।

यो लगानीको ठूलो हिस्सा दक्षिण भारतको प्रविधि सहर हैदराबादमा निर्माणाधीन नयाँ डाटा सेन्टरमा खर्च हुनेछ । चान्दोकले यसलाई भारतकै सबैभन्दा ठूलो र अत्याधुनिक केन्द्र भएको दाबी गरेका छन् ।

गुगल र अमेजन जस्ता प्रतिस्पर्धीहरूले पनि भारतलाई आफ्नो मुख्य बजार बनाइरहेका बेला माइक्रोसफ्टले आफूलाई सबैभन्दा अगाडि राख्न खोजेको छ ।

भारतका प्रमुख सूचना प्रविधि कम्पनीहरू टाटा कन्सल्टेन्सी सर्भिसेज, इन्फोसिस र कग्निजेन्टले को-पाइलट सेवाका करिब ५०-५० हजार लाइसेन्सहरू खरिद गरिसकेका छन् ।

भारतमा रहेका २२ हजारभन्दा बढी माइक्रोसफ्टका कर्मचारीहरूले हाल विश्वव्यापी एआई सुविधाहरू विकासमा समेत योगदान दिइरहेका छन् ।