
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगोले डढेका, च्यातिएका वा नष्ट भएका नोटहरूको सटहीमा कडाइ गरेको छ ।
राष्ट्र बैंकले ठूलो परिमाणमा सटहीका लागि बैंकमा यस्ता नोट साट्न स्थानीय तह र प्रहरीको सिफारिस अनिवार्य गरेको हो । यससँगै अब यदि कुनै व्यक्तिले धेरै रकम बराबरका जलेका, च्यातिएका वा नष्ट भएका नोट साट्न बैंक पुगेमा सहजै सटही हुने छैन ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले ठूलो परिमाणमा नोट ल्याउँदा अनिवार्य रूपमा स्थानीय तह र प्रहरीको सिफारिस आवश्यक पर्ने बताए ।
‘डढेको नोट साट्न स्पष्ट कारण र स्पष्टीकरण चाहिन्छ । के घटना घटेको हो र किन जल्यो भन्नेबारे स्थानीय तह वा प्रहरीको सिफारिस ल्याउनुपर्ने हुन्छ,’ प्रवक्ता पौडेलले भने ।
विशेषगरी गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवा का घरमा रहेका नोट जलेको अवस्थामा फेला परेका थिए ।
त्यस्तै, तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि जलेका नोट फेला परेका थिए । त्यसरी जलेका नोटहरू बैंकिङ प्रणालीमा ल्याउने प्रयास हुन सक्ने र त्यस्ता नोटको स्रोत अवैध हुन सक्ने आशंकामा राष्ट्र बैंकले ‘केस–टु–केस’ अध्ययन गरेर मात्र सट्टाभर्ना दिने नीति लिएको पौडेलले बताए ।
कुनै पनि व्यक्तिको व्यक्तिगत कारण वा दुर्घटनाका कारण नोट जलेको भए सम्बन्धित वडा कार्यालय वा प्रहरी कार्यालयबाट घटनाको मुचुल्का वा सिफारिस बनाएर ल्याएपछि मात्र राष्ट्र बैंकले सट्टाभर्ना प्रक्रिया अगाडि बढाउने प्रवक्ता पौडेलको भनाइ छ।
थोरै नगद साट्न भने समस्या छैन
प्रवक्ता पौडेलका अनुसार सानो परिमाणमा (एक–दुई हजार रुपैयाँ) जलेका नोट साट्न भने पहिलेकै व्यवस्था लागू हुनेछ । साना नोट साट्नका लागि सरल प्रक्रिया नै रहने उनले बताए ।
उनले भने, ‘पूजा गर्दा वा भुलवश भएका साना घटनामा जलेका नोट साट्न समस्या छैन । तर चाङका चाङ नोट ल्याउँदा त्यसको स्रोत र घटना पुष्टि हुनुपर्छ ।’
राष्ट्र बैंकले सर्वसाधारणलाई नोटको सुरक्षामा ध्यान दिन र शंकास्पद रूपमा प्राप्त भएका वा फेला परेका जलेका नोटको कारोबार नगर्न पनि सचेत गराएको छ ।
नेपाल राष्ट्र बैंक को ‘नोट सट्टाभर्ना नियमावली, २०५९’ अनुसार केन्द्रीय बैंकले डढेका, किराले खाएका, च्यातिएका वा पानीले भिजेका नोट साट्दै आएको छ ।
कस्तो नोटको कति पाइन्छ सट्टाभर्ना ?
राष्ट्र बैंकले नियमावलीअनुसार नोटको अवस्था हेरेर सट्टाभर्ना दिने गरेको छ ।
पूर्ण सट्टाभर्ना : यदि नोटको ५० प्रतिशतभन्दा बढी भाग सुरक्षित छ र नोटको अंक (सिरियल नम्बर) स्पष्ट देखिन्छ भने त्यस्ता नोटको सट्टामा पूरा रकम पाइन्छ ।
आंशिक सट्टाभर्ना : यदि नोटको आधा भाग (५० प्रतिशत) मात्र बाँकी छ र केही अंक देखिएका छन् भने त्यसको आधा मूल्य मात्र भुक्तानी दिन सकिने व्यवस्था छ ।
सट्टाभर्ना नहुने : यदि नोटको ५० प्रतिशतभन्दा कम भाग मात्र बाँकी छ वा नोटको पहिचान नै हुन नसक्ने गरी जलेको छ भने त्यस्तो नोटको सट्टाभर्ना पाइँदैन ।





प्रतिक्रिया