
काठमाडौं । सर्वोत्तम स्पिनिङ मिल्सले २ अर्ब ५ करोड रुपैयाँ लगानी थप गरी आफ्नो क्षमता विस्तार गर्ने भएको छ । हाल दैनिक ५० हजार केजी (५० टन) धागो उत्पादन गर्दै आएको मिल्सले अब २ अर्ब रुपैयाँ बढीको लगानी थप गरी आफ्नो क्षमतालाई ५० प्रतिशतले बढाएर दैनिक ७५ हजार केजी पुर्याउन लागेको हो ।
लामो समयदेखि जगदम्बा स्पिनिङ मिल्सका नामबाट सञ्चालनमा रहेको यो कम्पनीले हालैमात्र नाम परिवर्तन गरी सर्वोत्तम स्पिनिङ मिल्स बनाएको हो ।
धागोको मागलाई पूर्ति गर्न क्षमता बढाउन लागिएको कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए । स्थापित व्यावसायिक घराना सौरभ ग्रुपद्वारा सञ्चालित यो उद्योले वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढीको धागो उत्पादन गरी बिक्री गर्दै आएको छ ।
उत्पादन क्षमता वृद्वि गर्न कम्पनीले जापानको ‘मुराटा’ कम्पनीले निर्माण गरेको ‘भोर्टेक्स’ नामक अत्याधुनिक प्रविधि जडान गरिने कम्पनीका अध्यक्ष न्यौपानेले बताए ।
‘धागोको बढ्दो मागलाई पूरा गर्न हामीले आफ्नो उद्योगको क्षमता विस्तार गर्न गरिरहेका छौं,’ अध्यक्ष न्यौपानेले क्लिकमान्डुसँग भने ‘ ‘क्षमता विस्तारको काम अन्तिम चरणम पुगेको छ ।’
क्षमता विस्तारमा कम्पनीलाई आवश्यक पर्ने लगानीका लागि एभरेष्ट बैंक र नबिल बैंकले कर्जा प्रदान गर्नेछन् भने बाँकी आवश्यक रकम स्वपुँजीमार्फत जुटाउने योजनामा कम्पनी रहेको छ । कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीसँग बैंकको ऋण तिर्न सक्ने क्षमता राम्रो भएको इन्फोमेरिक्सले दिएक एथ्री रेटिङले प्रष्ट पार्छ ।
क्षमता विस्तारसँगै कम्पनीले आगामी आर्थिक वर्ष सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया पनि अगाडि बढाउनेछ । बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणका लागि आईपीओ जारी गर्न कम्पले सोही अनुसारको तयारी र आशय मूल्य निर्धारणको प्रारम्भिक छलफल गरेको छ । यद्यपि, यसलाई अन्तिमरुप दिन भने झै समय लाग्नेछ ।
कम्पनीले आगामी आर्थिक वर्षको साउन-भदौ महिनामा आफ्नो पछिल्लो वित्तीय विवरणसहित आईपीओ निष्कासनका लागि आवेदन दिने योजना बनाएको छ । सन् २००५ मा स्थापना भएको कम्पनी २०२१ मा पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ ।
यो कम्पनी वित्तीय रूपमा निकै सुदृढ र सबल छ । कम्पनीले पुराना सबै ऋण चुक्ता गरिसकेको छ भने गत आर्थिक वर्षमा करिब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, चालु आर्थिक वर्षमा ४० करोडसम्म नाफा आर्जन गर्ने अनुमान गरिएको अध्यक्ष न्यौपाने बताउँछन् । कम्पनीको सञ्चालन आम्दानी १५ प्रतिशतभन्दा बढी छ भने लाभांस क्षमता पनि १५ प्रतिशत छ ।
राम्रो बिक्री मूल्य, कच्चा पदार्थ लागतमा कमी र कर ऋणको उपयोग गरेका कारण ब्याज खर्च घट्दा कम्पनीको नाफामा सुधार देखिएको हो । उद्योगले आफ्नो क्षमताको ९८ प्रतिशत क्षमतामा सञ्चालित छ ।
कम्पनीले आफ्नो उत्पादनको अधिकांश हिस्सा अर्थात् ९५ प्रतिशत निर्यात गर्दै आएको छ । गत वर्षमात्रै कम्पनीले करिब ४ अर्ब को कुल कारोबारमध्ये ३ अर्ब ८० करोड रुपैयाँ बराबरको धागो भारत र टर्कीमा निर्यात भएको थियो । नेपालमा कच्चा पदार्थ र बिजुलीको लागत भारतको तुलनामा सस्तो पर्ने भएकाले नेपाली धागो उद्योग प्रतिस्पर्धी र नाफामूलक रहेको छ ।
धागो निर्माणका लागि कच्चा पदार्थ आयात गर्दा पाउने कर तथा भन्सार छुट र नेाल सरकारले निर्यातमा दिने ४ देखि ८ प्रतिशतको नगद प्रोत्साहनले यो उद्योगलाई ठूलो टेवा मिलेको छ । सञ्चालन आम्दानीको ८० प्रतिशतभन्दा बढी खर्च कच्चा पदार्थ किन्नका लागि हुँदै आएको छ ।
कम्पनी निर्यातमा आधारित हुँदा उत्पादन किन्ने देशहरुले कर नीतिमा परिव्तन गरे वा नेपालले नै भन्सार र निर्यातमा दिने प्रोत्साहनको नीतिमा परिवर्तन ल्याएको अवस्थामा यो कम्पनी जोखिममा पर्ने देखिन्छ ।
भैरहवाको लुम्बिनी रोडमा अवस्थित १७ विगाह जमिनमा फैलिएको यो उद्योगमा हाल १०५० जना कर्मचारी कार्यरत छन्, जसमा आधाभन्दा बढी महिला छन् ।
स्थापनाकालदेखि नै यस कम्पनीले नवप्रवर्तनका लागि उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने खालका उत्कृष्ट स्पन धागोहरू उत्पादन गर्दै आएको छ । यसले स्वदेशी तथा अन्तर्राष्ट्रिय दुवै बजारमा पोलिस्टर स्पन धागो र पोलि–भिस्कोस मिश्रित धागोको सबैभन्दा ठूलो बजार पोर्टफोलियोहरूमध्ये एकको प्रशोधन गर्दछ ।
जगदम्बा स्पिनिङ मिल्स सौरभ समूहको एक एकाइ हो, जुन एक बहु–एकाइ र विविध व्यावसायिक रुचि भएको समूह हो । यसले औद्योगिक गतिविधिको एक विस्तृत श्रृंखला सञ्चालन गर्दछ । यो कम्पनीमा दुर्गा न्यौपानेको ३०, विष्णु न्यौपानेको २१ र भैवभ न्यौपानेको १६ प्रतिशत स्वामित्व छ ।





प्रतिक्रिया