
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न निकायका रिक्त रहेका पदहरुमा नियुक्तिका लागि रोस्टर सूची बनाइरहेको छ । मन्त्रालयले वेवसाइट र सामाजिक सञ्जालमार्फत रोस्टर सूची बनाएकाे र त्यसका लागि सम्बन्धित क्षेत्रका विषयविज्ञलाई नियुक्त गर्ने जानकारी दिएको छ ।
पर्यटन मन्त्री खडकराज पौडेलले पर्यटन मन्त्रालय अन्तगर्त रहेको विभिन्न नियकामा बसेर काम गर्न चाहने सम्बन्धित क्षेत्रका विषय विज्ञलाई रोस्टर सूचीमा सूचीकृत हुन आग्रह गरेका छन् । उनले मन्त्रालयबाट हुने विभिन्न नियुक्तिका यस्तो सूची बनाइरहेको पनि बताए ।
मन्त्रालयले आफ्नो मातहतका विभिन्न संस्थाहरूमा रिक्त रहेका पदपूर्तिका लागि रोस्टर (सूचीकरण) तयार गर्ने प्रक्रियाबारेमा समेत स्पष्ट पारेको छ । मन्त्रालयले यो प्रक्रिया नियुक्तिका लागि मागिएको आवेदन नभएर सम्भावित योग्य व्यक्तिहरूको पहिचान गर्ने एउटा संस्थागत अभ्यास मात्र भएको जनाएको छ ।
राज्यको दृष्टि सीमित हुन सक्ने स्वीकार गर्दै प्रचारभन्दा काममा विश्वास गर्ने र पहिचानमा नआएका गुमनाम प्रतिभाहरूलाई समेट्न यो प्रयास गरिएको मन्त्रालयको भनाइ छ ।
यो प्रक्रियामा इच्छुक व्यक्तिले आफ्नो मात्र नभई आफूभन्दा योग्य लागेका अन्य व्यक्तिहरूको नाम समेत सिफारिस गर्न सक्ने सुविधा पनि दिइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
यो रोस्टर नियुक्तिका लागि अनिवार्य मापदण्ड भने नभएको मन्त्रालयले प्रष्ट पारेको छ। रोस्टरमा नाम नपरेका व्यक्तिहरू पनि उपयुक्त ठहरिएमा नियुक्त हुन सक्नेछन् । विगतका नियुक्तिहरूमा प्राज्ञिक योगदान नभएका व्यक्तिहरू राजनीतिक दलको झण्डा बोकेकै भरमा नियुक्त भएको जनगुनासो आएकाले यसपटक विज्ञहरू सम्मिलित अति गोप्य र स्वतन्त्र मूल्याङ्कन समितिको सुझावका आधारमा मात्र नियुक्ति गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।
यसपटकको नियुक्तिमा सर्जकको राजनीतिक विचारधारा वा दलगत आबद्धतालाई नहेरी केवल सिर्जनशीलता र योगदानलाई आधार बनाइने मन्त्रालयले जनाएको छ । राजनीतिलाई सिर्जनात्मक नियुक्तिको माध्यम बनाउने अभ्यासलाई अन्त्य गर्दै योग्यता, इमान्दारी र कार्यक्षमतालाई मुख्य प्राथमिकता दिइने बताइएको छ ।
मन्त्रालयले प्राज्ञ पदलाई केवल सम्मानका रूपमा मात्र नभई एउटा जिम्मेवारीका रूपमा व्याख्या गरेको छ । योजनाबद्ध कामबिना प्राज्ञिक विकास सम्भव नहुने भएकाले नियुक्तिका लागि व्यक्तिको स्पष्ट दृष्टि, योजना र संस्थागत क्षमतालाई मुख्य आधार बनाइनेछ ।
यो नियुक्ति प्रणालीलाई अझ बढी सिर्जनात्मक र सम्मानजनक बनाउन मन्त्रालयले सरोकारवालाहरूबाट प्राप्त हुने रचनात्मक सुझावका लागि ढोका खुला रहेको समेत जानकारी दिएको छ ।





प्रतिक्रिया