पर्वतारोहणको सिजन

हिमालमा ७९ देशका ११ सय ८१ आरोही: सगरमाथा जाने ५ सयले मात्रै खर्चन्छन् ५ अर्ब

आरोहण अनुमतिबाट मात्रै सवा अर्ब रुपैयाँको रोयल्टी संकलन


काठमाडौं । नेपालमा पर्वतारोहणको यो वर्ष वसन्त ऋतुमा मात्रै करिब १२ सय आरोही विभिन्न हिमालको आरोहणमा छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुसार सन् २०२६ को मार्चदेखि मे १५ सम्ममा आरोहण अनुमति लिने आरोहीमध्ये ७९ देशका ११ सय ८१ आरोहीले अनुमति लिएर आरोहणमा गएका छन् ।

यी आरोहीहरूमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आएका छन् । अमेरिकाबाट हिमाल आरोहण गर्न नेपाल आउने १५० जनामध्ये १२५ जना पुरुष र २५ जना मात्रै महिला छन् ।

नेपाल आउने आरोहीहरूमध्ये दोस्रो धेरै चिनियाँ छन् । यो वर्ष नेपालमा आएका १५६ जना चिनियाँ आरोहीमध्ये ११६ जना पुरुष र ४० जना महिला छन् । अरू देशका आरोहीमध्ये कम्तिमा १ जनाले नै आरोहण अनुमतिका लागि विभाग गएको देखिएको छ।

नेपालमा हिमाल आरोहण गर्न आउने विदेशी पर्यटकमध्ये अमेरिका आकर्षक गन्तव्य मानिन्छ । नेपालमा आउने विदेशी पर्यटकमध्ये अमेरिका र युरोपबाट आउनेलाई खर्चालु पर्यटक मान्ने गरिन्छ ।

पर्वतारोहीलाई अन्य पर्यटकीय गतिविधिको तुलनामा खर्चालु पर्यटक मानिन्छ । सगरमाथा आरोहण गर्न प्रतिव्यक्ति आरोहण अनुमति लिन मात्रै १५ हजार डलर चाहिन्छ । त्योबाहेक हुने खर्च सम्बन्धित आरोही र उसकै टिमको हुन्छ ।

आरोहणमा आउने पर्यटकमध्ये सगरमाथाको लागि मात्रै ५५ देशबाट ४९४ जनाले अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार सगरमाथा आरोहण गर्न आउनेमा सबैभन्दा बढी अमेरिकी नै छन् । यो वर्ष ७७ अमेरिकी नागरिकले सगरमाथा आरोहणको अनुमति मागेका छन् ।

पर्यटकले लिएको आरोहण अनुमतिबाट १ अर्ब २५ करोड ८४ लाख ६० हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । यस्तो रोयल्टी अमेरिकी डलरमा ८४ लाख २९ हजार ६२६ मे १५ सम्ममा संकलन भएको पनि पर्यटन विभागले जानकारी दिएको छ ।

संकलन भएको रोयल्टीमध्ये सबैभन्दा बढी सगरमाथाको छ । सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ । अन्य हिमालको तुलनामा सगरमाथाको आरोहण रोयल्टी धेरै हुने र आरोहणमा आकर्षण बढ्ने भएकोले पनि यसबाट धेरै रोयल्टी संकलन भएको पर्यटन विभागको भनाइ छ ।

सगरमाथा जाने ५ सय आरोहीले मात्रै खर्चन्छन् ५ अर्ब

नेपालमा आउने आरोहीमध्ये सबैभन्दा बढी खर्च सगरमाथाको लागि हुने गरेको छ । सगरमाथा आरोहण गर्न सरकारलाई मात्रै १५ हजार डलर रोयल्टी तिर्नुपर्छ ।

पर्वतारोहीले लैजाने आरोही सहयोगीसहितका शेर्पा गाइडलाई दिनुपर्ने खर्च अर्को १५ हजार डलर बराबर नै आउने गरेको छ ।

आरोहीले पर्वतारोहणका इक्विपमेन्ट, खाना सहितमा अर्को १५ हजार डलर खर्च गर्नुपर्ने भएकोले एउटा आरोहीले ४५ देखि ५० हजार डलर सगरमाथा आरोहणको लागि मात्रै खर्च गर्न सामान्य भएको पर्वतारोहणविद् आङछिरिङ शेर्पाले बताए ।

उनका अनुसार पश्चिम एसियाको तनावले यो वर्ष पर्यटनका अरू क्षेत्र सुस्त भए पनि पर्वतारोहणमा भने उत्साह नै देखिएको छ । पश्चिम एसिया तनावका कारण मध्यपूर्व हुँदै आउने पर्यटकले रिरुटिङ गर्नुपरेको फाइदा यसपटक नेपालको पर्वतारोहणलाई भएको पनि उनले बताए ।