
काठमाडौँ । पुँजीबजारको समस्या समाधान गर्न र नीतिगत सुधारमा स्टक ब्रोकरहरूको जोड दिएका छन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल उद्योग वाणिज्य महासंघमा प्रतिनिधित्व गर्ने तथा नवनिर्वाचित सदस्यहरूको सम्मानमा बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा ब्रोकरहरूले नीतिगत सुधारमा जोड दिएका हुन् ।
कार्यक्रममा पुँजीबजारका प्रतिनिधिहरूले बजारको समसामयिक अवस्था र नीतिगत सुधारका विषयमा चर्चा गरे ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष सागर ढकालले धितोपत्र ऐन संशोधन गर्नुपर्ने र धितोपत्र बोर्डमा पुँजीबजार बुझेको व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने माग राखे । उनले एफएनसीसीआईमार्फत पुँजीबजारको हितमा वकालत गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, भेट्रान लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पुँजीबजारको हिस्सा ७० प्रतिशत पुगिसकेको जानकारी दिँदै स्टक ब्रोकर एसोसिएसनलाई अझ बलियो बनाउनुपर्ने बताए ।
उनले पहिलो पटक महासंघमा पुँजीबजार क्षेत्रबाट ठुलो सहभागिता भएको भन्दै खुसी व्यक्त गरे ।
एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले हालको ‘१० कित्ते नीति’ ले बजारमा ‘कर्नररिङ’ बढाएको दाबी गर्दै यसलाई समाजवादी नीतिको संज्ञा दिए । उनले बुक बिल्डिङ विधिलाई प्रोत्साहन गर्न र आईपीओ निष्कासन नीतिमा तत्काल पुनर्विचार गर्नुपर्ने समय आएको बताए ।
अर्का पूर्वअध्यक्ष तथा महासंघका कार्यकारिणी सदस्य प्रिया राज रेग्मीले दोस्रो बजारलाई चलायमान बनाउन आवश्यक रहेको र आफूले महासंघको तर्फबाट बजारका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
नवनिर्वाचित प्रतिनिधि जुना माथेमाले एसोसिएसनले नीतिगत सुधारका काममा ध्यान दिनुपर्ने र सुझाव पेस गर्दा तीन महले ढाँचा प्रयोग गर्दा बढी प्रभावकारी हुने सुझाव दिइन् । उनले जनचेतना जगाउनका लागि छोटो भिडियोहरू बनाउन समेत आग्रह गरिन् ।
कार्यक्रममा आर्थिक पत्रकार कुमार खतिवडालाई उत्कृष्ट पत्रकारिता गरेबापत सम्मान गरिएको थियो । संघका उपाध्यक्ष नितेश कुमार अग्रवालले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमको सञ्चालन महासचिव भक्तिराम घिमिरेले गरेका थिए ।





प्रतिक्रिया