
काठमाडौं। सरकारले क्यासिनोमा नेपालीको प्रवेशमा थप कडाइ गरेको छ । क्यासिनोहरूमा नेपाली नागरिकको प्रवेश र अवैध जुवातास खेलमा कडाइ गर्न देशभरका १२ जिल्ला प्रशासन कार्यालयलाई कडा निर्देशन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले एक विज्ञप्ति जारी गर्दै क्यासिनोमा नेपालीहरूको प्रवेश निषेध गर्न र गैरकानुनी गतिविधि रोक्न निर्देशन दिएको हो ।
विभागले झापा, मोरङ, बारा, पर्सा, भक्तपुर, काठमाडौं कास्की, रूपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै सूक्ष्म निगरानी र स्थलगत अनुगमन बढाउन भनेको छ ।
पर्यटन ऐन २०३५ र क्यासिनो नियमावली २०७० ले नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गर्न र खेल खेल्न पूर्ण रूपमा निषेध गरेको छ । तर, पछिल्लो समय विभिन्न क्यासिनोहरूले नियम विपरीत नेपालीहरूलाई प्रवेश गराएको र अनुमति नलिइएका खेलहरू समेत सञ्चालन गरेको भन्दै प्रतिनिधि सभामा समेत कुरा उठेपछि सरकारले यो सक्रियता देखाएको हो ।
विज्ञप्तिमा भनिएको छ, विभिन्न क्यासिनो कम्पनीले नेपाली नागरिकलाई प्रवेश गराई खेल खेलाएको र इजाजत बाहेकका खेलहरू समेत सञ्चालन गरेको भन्ने समाचार तथा सूचना प्राप्त भएकाले सूक्ष्म निगरानी र अनुगमन गरी नेपालीहरूको अवैध प्रवेश लगायत प्रचलित कानुन विपरीतका गतिविधि हुन नदिने व्यवस्था मिलाइदिनु हुन अनुरोध छ ।
क्यासिनो व्यवसायले पर्यटन ऐनका साथै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ र नियमावली २०७१ का व्यवस्थाहरू समेत अनिवार्य पालना गर्नुपर्ने विभागले स्मरण गराएको छ ।
सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई क्यासिनोको स्थलगत अनुगमन गरी कानुन विपरीतका कार्य भएको पाइएमा तत्काल कानुन बमोजिम कारबाही अगाडि बढाउन र सोको जानकारी विभागलाई गराउन समेत निर्देशन दिएको छ ।
विभागका निर्देशक हिमाल गौतमद्वारा हस्ताक्षरित सो विज्ञप्तिले क्यासिनो सञ्चालकहरूलाई समेत नियम पालना गर्न सचेत गराएको छ । यो निर्देशनपछि अब उल्लेखित १२ जिल्लाका क्यासिनोहरूमा सुरक्षा र अनुगमन थप कडा हुने अपेक्षा गरिएको छ।






प्रतिक्रिया