
एजेन्सी । यसै साता चीनका राष्ट्रपति सी चिनपिङले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका लागि रेड कार्पेट ओछ्याउँदै गर्दा बेइजिङबाट केही सय माइल टाढा एउटा यस्तो रहस्यमयी आर्थिक सञ्जाल सक्रिय छ जसले अमेरिकी प्रतिबन्धको धज्जी उडाउँदै इरानको अर्थतन्त्रलाई अर्बौं डलर उपलब्ध गराइरहेको छ ।
चीनको शान्दोङ प्रान्त र त्यसको आसपासका बन्दरगाह, पाइपलाइन र तेल प्रशोधन केन्द्रहरूले इरानका लागि सुरक्षाकवचको काम गरिरहेका छन् । यो तटीय क्षेत्रको मरुभूमि जस्तो भूभागमा ठूला तेल भण्डारण ट्यांक र धुवाँ ओकलिरहेका चिम्नीहरूको विशाल संरचना देख्न सकिन्छ ।
यहाँ टिपट रिफाइनरी भनिने साना र स्वतन्त्र तेल कम्पनीहरूले बेइजिङको मौन सहमतिमा अमेरिकी प्रतिबन्ध लागेको इरानी कच्चा तेललाई प्रशोधन गरेर ग्यास, डिजेल र पेट्रोकेमिकलमा बदल्ने गर्छन् ।
अहिले वाशिङटनले इरानको आर्थिक लाइफलाइन काट्न र महिनौं लामो युद्ध अन्त्यका लागि उसलाई घुँडा टेकाउन दबाब दिइरहेका बेला यो गुप्त व्यापार ट्रम्प र सीको वार्ताको टेबुलमा मुख्य एजेन्डा बनेको छ । एकातर्फ बेइजिङ अमेरिकासँगको सम्बन्धमा स्थिरता चाहन्छ भने अर्कोतर्फ इरानसँगको आफ्नो घनिष्ठ आर्थिक र कूटनीतिक सम्बन्धलाई पनि कायमै राख्न चाहन्छ ।
ट्रम्पको चीन भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी अर्थ मन्त्रालयले चीनमा इरानी तेलको बिक्री र ढुवानीमा संलग्न रहेको आरोपमा १२ जना व्यक्ति र संस्थाहरूलाई कालोसूचीमा राखेको छ । यसअघि नै वाशिङटनले शान्दोङ र खबे प्रान्तका धेरै रिफाइनरीहरूमा प्रतिबन्ध लगाइसकेको छ ।
सीएनएनको एक टोलीले खबे सिन्हाई केमिकल ग्रुपको रिफाइनरी भ्रमण गर्दा त्यहाँ सुरक्षा व्यवस्था निकै कडा पाइएको थियो । मास्क लगाएका गार्डहरूले औद्योगिक बन्दरगाह क्षेत्रमा फैलिएको यो विशाल परिसरको पहरेदारी गरिरहेका थिए ।
सीएनएनको टोलीले सार्वजनिक सडकबाट यस केन्द्रको दृश्य कैद गर्न खोज्दा कम्पनीको लोगो भएका सवारीसाधनहरूले उनीहरूको पिछा गर्दै छायांकनमा अवरोध पुर्याउन खोजेका थिए । अन्य सामान्य उद्योगहरूको तुलनामा यहाँको सुरक्षा स्तर निकै उच्च र संदिग्ध देखिन्थ्यो ।
वाशिङटनले गत वर्ष नै खबे सिन्हाईलाई इरानी सेनासँग सम्बन्धित तेल खरिद गरेको आरोप लगाएको थियो । यस कम्पनीले छायाँ ट्यांकर मार्फत करोडौं डलरको तेल आयात गरेको दाबी गरिएको छ ।
शान्दोङ प्रान्तमा रहेका यी साना रिफाइनरीहरूले चीनले उपभोग गर्ने कुल तेलको झण्डै २० प्रतिशत हिस्सा प्रशोधन गर्छन् । कोलम्बिया विश्वविद्यालयको सेन्टर अन ग्लोबल इनर्जी पोलिसीकी एरिना डाउन्सका अनुसार, यी साना उद्योगहरूका लागि प्रतिबन्धित तेल (जस्तै भेनेजुएला, रुस र इरान) बरदान साबित भएको छ ।
‘यी साना प्लान्टहरू थोरै नाफामा चल्छन् । प्रतिबन्धित देशहरूबाट भारी छुटमा पाउने तेलकै कारण उनीहरू अस्तित्वमा रहन सफल भएका छन्,’ डाउन्सले भनिन् ।
हालैका दिनमा अमेरिकाले हेन्ली पेट्रोकेमिकल जस्ता ठूला खेलाडीहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरेको छ । यसले वाशिङटन अब साना टिपट रिफाइनरीमा मात्र सीमित नरहेर ठूला चिनियाँ कम्पनीहरूसम्म पुग्न खोजेको संकेत गर्छ ।
यद्यपि, चीनले आफ्नो भन्सार तथ्यांकमा इरानी तेल आयात गरेको कुरा कहिल्यै स्वीकार गर्दैन । बेइजिङले अमेरिकी प्रतिबन्धलाई एकतर्फी भन्दै आफ्ना कम्पनीहरूलाई यसको पालना नगर्न आदेश समेत दिएको छ ।
इरान र अमेरिकाबीचको युद्धका कारण विश्वव्यापी तेल बजारमा धक्का लागे पनि चीनका यी स्वतन्त्र रिफाइनरीहरूले इरानबाट तेल ल्याउन छोडेका छैनन् । तथ्यांक अनुसार, चीनको समुद्री मार्गबाट हुने कुल तेल आयातको झण्डै १८ प्रतिशत हिस्सा अहिले इरानबाट आउने गरेको छ ।
यो तेल चीनसम्म पुर्याउन छायाँ ट्यांकरहरू प्रयोग गरिन्छ । यी पुराना र थोत्रा जहाजहरूले आफ्नो ट्य्राकिङ मशिन बन्द गरेर समुद्रमा लुकीछिपी यात्रा गर्छन् । सिंगापुर नजिकैको इस्टर्न आउटर पोर्ट लिमिट्स यस्तो ठाउँ हो जहाँ यी जहाजहरूले एक अर्कालाई तेल साटासाट गर्छन् । यसरी तेल साटासाट गर्दा तेलको वास्तविक स्रोत (इरान) लुकाइन्छ र त्यसलाई मलेसिया वा इन्डोनेसियाको उत्पादन भनेर लेबलिङ गरिन्छ ।
भूउपग्रहबाट प्राप्त तस्बिरहरूले यो लुकामारीको पर्दाफास गरेको छ । सीएनएनले अप्रिल ३ मा खिचेको एउटा तस्विरमा इरानी झण्डा भएको जहाज हर्बीले अर्को ट्यांक हाउन्कायोलाई तेल दिइरहेको देखिएको छ । केही हप्तापछि हर्बी खाली भएर इरानतिर फर्कंदै गर्दा अमेरिकी जलसेनाको युद्धपोत यूएसएस राफेल पेराल्टाले यसलाई घेरा हालेको थियो ।
तर, जहाज खाली भइसकेको थियो र यसले बोकेको तेल तीन दिनपछि चीनको यान्ताई बन्दरगाहमा पुगिसकेको थियो ।
बेइजिङका लागि इरानबाट आउने तेल केवल इन्धन मात्र होइन, यो उसको ऊर्जा सुरक्षाको एक महत्त्वपूर्ण कडी हो । इरानले हर्मुज जलयोजकमा नियन्त्रण गरेर अन्य देशको निर्यातमा अवरोध पुर्याउँदा पनि चीनले आफ्ना टिपट रिफाइनरीमार्फत निरन्तर तेल पाइरहेको छ ।
अहिले ट्रम्प र सीको वार्तामा यो मुद्दाले कस्तो मोड लिन्छ भन्ने कुरा निकै महत्त्वपूर्ण छ । ट्रम्प इरानलाई आर्थिक रूपमा टाट पल्टाउन चाहन्छन् जबकि सी आफ्ना उद्योगहरू चलाउन सस्तो तेलको खोजीमा छन् ।
शान्दोङको यो गुप्त तेल सञ्जाल व्यापार मात्र होइन । यो विश्वका दुई महाशक्तिहरू बीचको भूराजनीतिक द्वन्द्वको एक प्रमुख मोर्चा बनेको छ । ट्रम्पको दबाब र सीको ऊर्जा भोकको बीचमा यी टिपट रिफाइनरीहरूले कसरी आफ्नो अस्तित्व जोगाउँछन्, त्यसले नै आगामी दिनमा मध्यपूर्व र एसियाको राजनीतिक दिशा तय गर्नेछ ।









प्रतिक्रिया