इरानसँगको युद्धविराम मरणासन्न अवस्थामा रहेको राष्ट्रपति ट्रम्पको भनाइ

210
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्धविराम लाइफ सपोर्ट (मरणासन्न अवस्था) मा रहेको बताएका छन् । वाशिङटनले युद्ध अन्त्यका लागि पठाएको प्रस्तावमा तेहरानले अस्वीकार्य जवाफ पठाएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले एक महिना पुरानो यो युद्धविराम अत्यन्तै कमजोर भएको बताए । उनले भने, ‘इरानले हामीलाई पठाएको त्यो रद्दीको टुक्रा (प्रस्ताव) पढेपछि म यसलाई अहिलेको सबैभन्दा कमजोर सम्झौता भन्न चाहन्छु । मैले त त्यो पूरै पढ्न पनि सकिनँ ।’

ट्रम्पले युद्धविरामको नाजुक अवस्थालाई तुलना गर्दै थपे, ‘म त के भन्छु भने यो युद्धविराम यस्तो लाइफ सपोर्टमा छ जहाँ डाक्टरले भित्र आएर भन्छ— ‘महोदय, तपाईंको प्रियजन बाँच्ने सम्भावना अब लगभग १ प्रतिशत मात्र छ’ ।’

यो तनावपूर्ण युद्धविराम गत अप्रिल ८ मा सुरु भएको थियो । त्यसअघि ट्रम्पले सम्झौता नभएमा इरानको सम्पूर्ण सभ्यता विनाश गरिदिने धम्की दिएका थिए । सुरुमा दुई हप्ताका लागि मात्र तय गरिएको यस युद्धविरामलाई ट्रम्पले अप्रिल २१ मा एकतर्फी रूपमा विस्तार गरेका थिए ।

यो युद्धविराम सुरुवाती दिनदेखि नै धर्मराउँदो अवस्थामा थियो जहाँ दुवै पक्षले एकअर्कामाथि शर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । अप्रिल ७ मा युद्धविरामको घोषणा गर्दा ट्रम्पले इरानले तत्काल स्ट्रेट अफ हर्मुज खोल्नुपर्ने शर्त राखेका थिए । यो मार्ग विश्वव्यापी तेल ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ र युद्ध सुरु भएदेखि लगभग बन्द अवस्थामा छ ।

स्ट्रेट अफ हर्मुजमा जहाजहरूको आवागमन युद्धपूर्वको स्तरमा नफर्किएपछि ट्रम्पले इरानी बन्दरगाहहरूमा जहाजहरू पस्न वा निस्कन नदिन ओमानको खाडीमा अमेरिकी जलसैनिक नाकाबन्दीको आदेश दिएका थिए ।

युद्धविरामका बाबजुद यस क्षेत्रमा सैन्य गतिविधिहरू रोकिएका छैनन् । गत साता मात्रै इरानले संयुक्त अरब अमिरात (यूएई) मा आक्रमण गरेको थियो भने स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच गोलाबारी भएको थियो । यसैबीच पेन्टागनले इरानको झण्डा भएका दुईवटा तेल ट्यांकरमा प्रहार गरेको जानकारी दिएको थियो ।

गत हप्तासम्म ट्रम्प र अमेरिकी अधिकारीहरूले युद्धविराम कायमै रहेको दाबी गर्दै आएका थिए । उनीहरूले युद्ध अन्त्य गर्न र तेहरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढाउन अमेरिकाले पठाएको प्रस्तावमा इरानको प्रतिक्रिया पर्खिरहेका थिए ।
तर, आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले इरानको जवाफ प्राप्त भएको र त्यो आफूलाई मन नपरेको बताएका छन् । उनले लेखेका छन्, ‘यो मलाई मन परेन । यो पूर्णतया अस्वीकार्य छ !’