विश्वकप फुटबलको महाकुम्भ: जित्नेले साढे ७ अर्ब पाउने, यी ४८ देशबीच भिडन्त

1.2k
Shares


एजेन्सी । आउँदै गरेको फिफा विश्वकप फुटबलमा सहभागी हुने टोलीहरूका लागि फिफाले पुरस्कार राशिमा ऐतिहासिक वृद्धि गरेको छ ।

यसपटक देखि ४८ वटा टोलीहरूले प्रतिस्पर्धा गर्ने यस बृहत् प्रतियोगिताका लागि कुल वित्तीय वितरण ८७ करोड १० लाख अमेरिकी डलर पुर्याइएको छ जुन अहिलेसम्मकै कीर्तिमानी रकम हो ।

यस व्यवस्था अनुसार, विश्वकपको यात्रा तय गर्ने प्रत्येक राष्ट्रले कम्तीमा पनि १ करोड २५ लाख डलर रकम पाउने निश्चित भएको छ । यसमा पुरस्कार राशिका साथै टोलीका प्रतिनिधिहरूको खर्चका लागि दिइने अनुदान समेत समावेश गरिएको छ ।

यसपटकको विश्वकप विजेताले पाउने पुरस्कार राशिमा ठूलो उछाल आएको छ । सन् २०२६ को विश्वकप जित्ने टोलीले ५ करोड अमेरिकी डलर (साढे ७ अर्ब नेपाली रुपैयाँ) प्राप्त गर्नेछ जुन सन् २०२२ को कतार विश्वकपको तुलनामा ५० प्रतिशतले बढी हो ।

फिफाले सन् २०२५ को अन्त्यतिर नै पुरस्कार राशिमा ५० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । यसले विश्वकपलाई आर्थिक रूपमा अझ आकर्षक बनाएको छ । विजेताका अतिरिक्त उपविजेताले ३ करोड ३० लाख डलर, तेस्रो हुने टोलीले २ करोड ९० लाख डलर र चौथो स्थान हासिल गर्ने टोलीले २ करोड ७० लाख डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको विभिन्न चरणमा बाहिरिने टोलीहरूका लागि पनि आकर्षक आर्थिक संरचना तयार गरिएको छ ।

क्वार्टरफाइनलसम्म पुग्ने पाँचौंदेखि आठौं स्थानका टोलीहरूले जनही १ करोड ९० लाख डलर पाउनेछन् भने राउन्ड अफ १६ (नवौंदेखि १६औं स्थान) सम्म पुग्ने टोलीहरूलाई १५ लाख डलर प्रदान गरिनेछ ।

समूह चरणमै सीमित हुने टोलीहरूका लागि पनि उनीहरूको प्रदर्शन र स्थान अनुसार पुरस्कार तोकिएको छ जसमा १७ देखि ३२औं स्थानमा रहने टोलीले १ करोड १० लाख डलर र ३३ देखि ४८औं स्थानसम्म रहने टोलीले ९० लाख डलर प्राप्त गर्नेछन् ।

पुरस्कार राशिका अतिरिक्त फिफाले प्रत्येक सहभागी राष्ट्रलाई तयारीका लागि २५ लाख डलर र विश्वकपमा छनोट भएबापत १० लाख डलर प्रदान गर्नेछ । यसले गर्दा प्रत्येक टोलीका लागि न्यूनतम १ करोड २५ लाख डलर सुनिश्चित भएको हो ।

तुलनात्मक रूपमा हेर्दा, सन् २०२५ को फिफा क्लब विश्वकपको विजेताले प्रदर्शनका आधारमा ४ करोडदेखि १२ करोड ५० लाख डलरभन्दा बढी कमाउन सक्ने अनुमान गरिएको भए पनि राष्ट्रिय टोलीहरू सहभागी हुने यो विश्वकपको पुरस्कार राशिमा गरिएको ५० प्रतिशतको वृद्धिले विश्व फुटबलमा नयाँ मानक स्थापित गरेको छ ।

विश्वकप फुटबल कहिलेदेखि हुँदैछ ?

विश्वकप फुटबल जुन ११, २०२६ देखि (२०८३ जेठ २८ गते) सुरू हुँदै छ भने यो प्रतियोगिता ३९ दिनसम्म चल्ने छ । विश्वकप जुलाई १९, २०२६ (२०८३ साउन ४ गते ) सकिने छ ।

यस पटकको विश्वकप इतिहासमै पहिलो पटक तीनवटा देशहरूले संयुक्त रूपमा आयोजना गर्दैछन् । खेलहरू अमेरिका,क्यानडा र मेक्सिकोमा हुने छ ।

कुल १६ वटा सहरहरूमा खेलहरू हुनेछन् । अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहरमा खेलहरू हुने फिफाले जनाएको छ ।

विश्वकपमा कुल १०४ वटा खेलहरू हुनेछन् । समूह चरणमा ४८ टोलीलाई १२ वटा समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहमा ४ टोली रहने छन् । प्रत्येक समूहका शीर्ष २ टोली र ८ वटा उत्कृष्ट तेस्रो हुने टोलीहरू ‘राउन्ड अफ ३२’ (नआउट चरण) मा प्रवेश गर्नेछन्।

विश्वकपको उद्घाटन खेल मेक्सिकोको ‘एज्टेका स्टेडियम’मा जुन ११, २०२६ मा हुनेछ भने फाइनल खेल अमेरिकाको न्यू जर्सीस्थित ‘मेटलाइफ स्टेडियम’मा जुलाई १९, २०२६ मा हुनेछ ।

फिफाले सार्वजनिक गरेको सूचीअनुसार विश्वकपका सबै ४८ टोलीको टुंगो लागिसकेको छ ।

यी हुन् विश्वकप खेल्ने देश

आयोजक राष्ट्र
अमेरिका, क्यानडा, मेक्सिको, एसिया

एसिया
अष्ट्रेलिया, इराक, इरान, जापान, जोर्डन, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, उज्बेकिस्तान

अफ्रिका
अल्जेरिया, केप भर्डे, डिआर कंगो, आइभरी कोस्ट, इजिप्ट, घाना, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका, ट्युनिसिया

उत्तर तथा मध्य अमेरिका
कुरासाओ, हैटी, पानामा

दक्षिण अमेरिका
अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे

ओसिनिया
न्युजिल्यान्ड

युरोप
अस्ट्रिया, बेल्जियम, बोस्निया एन्ड हर्जेगोभिना, क्रोएसिया, चेकिया, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन, स्विडेन, स्विट्जरल्याण्ड, टर्की

पहिलो पटक विश्वकप पुग्ने टोली

उज्बेकिस्तान

उज्बेकिस्तानले एसियाली छनोट चरण पार गर्दै इतिहासमै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । विगत धेरै संस्करणमा नजिक पुगेर पनि असफल भएको टोलीले अन्ततः २०२६ मा सपना पूरा गर्‍यो ।

जोर्डन

मध्यपूर्वको राष्ट्र जोर्डन पनि पहिलो पटक विश्वकपमा पुगेको हो । एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै उसले ऐतिहासिक सफलता हासिल गर्‍यो ।

कुरासाओ

क्यारेबियन क्षेत्रको सानो राष्ट्र कुरासाओ पहिलो पटक विश्वकपमा छनोट भएको टोलीमध्ये एक हो । नयाँ विस्तारित फर्म्याटले साना फुटबल राष्ट्रलाई अवसर दिएको उदाहरणका रूपमा यसलाई हेरिएको छ ।

केप भर्डे

अफ्रिकी राष्ट्र केप भर्डेले पनि पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गरेको छ । पछिल्ला वर्षहरूमा अफ्रिकी फुटबलमा तीव्र सुधार गरिरहेको टोलीका रूपमा केप भर्डेलाई हेरिन्छ ।