सम्बन्धित मन्त्रालयबाट आएका बाहेकका आयोजनालाई अर्थ मन्त्रालयले बजेटमा राख्दैन: अर्थमन्त्री

42
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रालयबाट इन्ट्री गरेर आएका बाहेकका आयोजनालाई अर्थ मन्त्रालयले बजेटमा नराख्ने बताएका छन् ।

संसद्को अर्थ समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा मंगलबार वाग्लेले भने, ‘खुद्रे आयोजना सम्बन्धित स्थानीय तहमा नै जाने र अरू आयोजनाको हकमा सम्बन्धित मन्त्रालयबाट नै आउने सिस्टम बनाएको र सोही अनुसार हुन्छ ।’

वाग्लेले सम्बन्धित मन्त्रालयबाट नआएका र सरकारले समावेश नगरी नहुने अपवाद बाहेकका आयोजना मात्रै अर्थ मन्त्रालयले अन्तिम समयमा बजेटमा राख्न सक्ने व्यवस्था रहेको पनि बताए ।

उनले सार्वजनिक खर्च बढाउने र निजी क्षेत्रमैत्री नीति ल्याएर काम गर्ने बताए ।

ऋणले सुन्निएको अर्थतन्त्र मात्रै नभएर निजी क्षेत्रले थप खर्च गरेर आर्थिक क्षेत्र चलायमान बनाउने गरी आगामी बजेटले प्राथमिकता निर्धारण गर्ने अर्थमन्त्रीको भनाइ छ ।

दातृ निकायले दिएको अनुदान र ऋणबाट मात्रै अर्थतन्त्रको विकास नहुने अर्थमन्त्री वाग्लेले बताए ।