
काठमाडौँ । नेपाललाई दक्षिण एशियाकै विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने उद्देश्यका साथ मुलुकमा पहिलो पटक ‘टियर आईभी हाइपरस्केल डाटा सेन्टर’ निर्माण हुने भएको छ ।
नेपाली उद्यमीहरूको समूहद्वारा प्रवर्द्धित ‘विचुटेन डाटा भोल्ट’ ले काठमाडौँमा एक कार्यक्रमबीच यस महत्वाकांक्षी परियोजनाको घोषणा गरेको हो । डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माणको संकल्पसहित सुरू गरिएको यस पहलले नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा यो स्वदेशी कम्पनी सञ्चालनमा आएको हो ।
कम्पनीका अनुसार यो डाटा सेन्टर नेपालकै पहिलो टियर आईभी प्रमाणित केन्द्र हुनेछ, जसले ९९.९९५ प्रतिशत ‘अपटाइम’ सुनिश्चित गर्नेछ । यसको अर्थ वर्षभरिमा प्राविधिक अवरोध २६ मिनेटभन्दा कम मात्र हुनेछ, जुन बैंकिङ, दूरसञ्चार र अन्य संवेदनशील क्षेत्रका लागि अत्यन्तै विश्वसनीय मानिन्छ ।
यो परियोजना दुई रणनीतिक स्थानहरू काठमाडौँ र वीरगन्जमा रहने कम्पनीले जनाएको छ । हाल २४० किलोवाट क्षमताबाट सुरु हुने यस डाटा सेन्टरलाई सन् २०३० सम्ममा ५ मेगावाटसम्म विस्तार गर्ने योजना छ ।
प्रविधि र विज्ञताका लागि कम्पनीले विश्वविख्यात प्रविधि कम्पनीहरू गुगल क्लाउड, भीभीडीएन, एएमडी र माइक्रोनसँग रणनीतिक साझेदारी गरेको छ । यस सहकार्यले नेपालमा आधुनिक प्रविधिको हस्तान्तरणमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विचुटेन डाटा भोल्टले केवल डाटा भण्डारण मात्र नभई ‘इन-कन्ट्री डाटा रेसिडेन्सी’ मार्फत नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने सुनिश्चितता प्रदान गर्नेछ ।
यसले विदेशी सर्भरमाथिको निर्भरता कम गर्दै राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोधक क्षमतालाई बलियो बनाउने विश्वास लिइएको छ । साथै, यो परियोजना पूर्णतः नेपालको जलविद्युतमा आधारित र वातावरणमैत्री हुनेछ । ऊर्जा-दक्ष प्रविधिको प्रयोगले दिगो विकासमा समेत टेवा पुर्याउने कम्पनीको दाबी छ ।
यस पूर्वाधारले नेपालको सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नेछ । कम्पनीको दूरगामी लक्ष्य भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याब्लेट जस्ता विद्युतीय उपकरणहरू उत्पादन गर्ने रहेको छ ।
भगवान विष्णुको जापानी बौद्ध नाम ‘विचुटेन’ (जसको अर्थ रक्षक हुन्छ) बाट नामकरण गरिएको यस कम्पनीले नेपालको डिजिटल भविष्यलाई सुरक्षित र आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया