‘निउ खोज्दै’ बाट सुरू भएर ‘रियाक्टबाट पैसा’ सम्म-नेपाली क्रिएटरबीच बहस

462
Shares

काठमाडौं । नेपाली सामाजिक सञ्जालमा पछिल्लो समय दुई चर्चित कन्टेन्ट क्रिएटर साजन श्रेष्ठ र विश्वास तिमिल्सिना (बीटी कान्छा) बीच देखिएको सवाल-जवाफले व्यापक चर्चा पाउन थालेको छ ।

केही दिनअघि साजन श्रेष्ठले आफ्नो फेसबुकमार्फत ‘निउ खोजेको’ संकेतात्मक स्टाटस सार्वजनिक गर्दै लेखेका थिए-
‘कोही कोही कमेडियन निउँ खोज्दै रहेछन् उसको भिडियो रियाक्ट गर्यो भनेर, पहिला पहिला नचल्दा मेल गरी गरी भिडियो रियाक्ट गर्देऊ न भनेको बिर्स्यो कि क्या हो ?? झ्याम्म दिनुपर्ने !!!’

उनको उक्त स्टाटसपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजीहरू सुरू भएका थिए। धेरै प्रयोगकर्ताहरूले यसलाई कुनै अर्का क्रिएटरतर्फ लक्षित गरिएको हुनसक्ने अनुमान गरेका थिए ।

यहीबीच, उक्त स्टाटसको कमेन्टमा विश्वास तिमिल्सिना (बीटी कान्छा) ले प्रत्यक्ष प्रतिक्रिया दिँदै लेखेका छन्-‘आफू हप्ता दिन मिहिनेत गरेर एउटा भिडियो बनायो, अनि हा हा गरेर त्यसबाट पैसा कमायो । भयो के, अब रियाक्ट नगर भन्दा निउँ खोज्दै स्टाटस हालेछ। राम्रो मुखले सम्झाएको बुझ्दैन कि क्या हो ?’

बीटी कान्छाको यस प्रतिक्रियापछि भने यो बहसले नयाँ मोड लिएको छ । कमेन्टमा ‘कमेडियनको नाम अनुमान गर्नुहोस्’ देखि ‘अर्को विवाद छिट्टै आउँदैछ’ जस्ता प्रतिक्रियाहरूले यो विषयलाई अझै चर्चामा ल्याएको छ ।

यसैबीच, पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा देखिएको ‘निउँ खोज्ने’ सम्बन्धी बहससँग पनि यो घटनालाई जोडेर हेरिएको छ।

हालसम्म दुवै क्रिएटरहरूले यस विषयमा औपचारिक रूपमा कुनै विस्तृत धारणा सार्वजनिक गरेका छैनन् । तर उनीहरूबीचको यो संवादले दर्शकहरूको चासो निकै बढाएको छ ।

अब प्रश्न उठ्न थालेको छ-के यो केवल सामाजिक सञ्जालको सामान्य बहस हो वा कुनै ठूलो योजनाको सुरुवात ?