विष्णु न्यौपानेको शुभश्री जगदम्बाले बेच्यो ६ महिनामै डेढ अर्ब रुपैयाँको सिमेन्ट

1.4k
Shares

काठमाडौं । शुभश्री जगदम्बा मिल्सले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे १ अर्ब रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले चालु आवको ६ महिनाको अवधिमा १ अर्ब ५५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो ।

उद्योगी विष्णु न्यौपानेलेको लगानी रहेको सर्वोत्तम होल्डिङ्सको सत्‌प्रतिशत लगानी रहेको शुभश्री जगदम्बाले गत आवमा ३ अर्ब ६० करोड रुपैयाँ, सन् २०२४ मा १ अर्ब ९० करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब २३ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ४ अर्ब २१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीअनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा २६ प्रतिशतले कारोबार बढेको उल्लेख छ । त्यस्तै, गत आवमा कम्पनीको कारोबार ८९ प्रतिशतले बढेको थियो ।

गत आवमा कम्पनीको स्वामित्व सर्वोत्तम सिमेन्टले लिएसँगै कारोबार बढेको जनाएको छ । कम्पनीले गत आवको गरेको कुल कारोबारमध्ये करिब ४७ प्रतिशत ग्रुपभित्रका कम्पनीहरुलाई गरिएको बिक्रीबाट भएको रेटिङमा उल्लेख छ ।

कम्पनीको पूर्वी क्षेत्रमा रहेको उद्योग सर्वोत्तम सिमेन्टको अर्को ग्रान्डिङ सिमेन्ट युनिटभन्दा ठूलो भएकाले पूर्वी नेपालमा आउने माग सोही उद्योगबाट पूरा हुने कम्पनीको भनाइ छ । उक्त उद्योगबाट सिधै बिक्री गर्दा ढुवानीको खर्चको प्रभावका कारण र अन्य ठुला नयाँ उद्योगहरुको तुलनात्मक रुपमा कम उपस्थितिका कारण सिमेन्टको मूल्य अपेक्षाकृत बढी रहेको छ ।

कम्पनीको उत्पादन क्षमतामा सुधार र सिमेन्टको मूल्य उच्च भएकाले चालु आवको ६ महिनाको अवधिमा ४.६ प्रतिशत नाफा मार्जिन राखेको छ । सन् २०२४ मा ३.१ प्रतिशत नाफा मार्जिन राखेको थियो ।

सन् २००७ मा स्थापना भएको कम्पनी सन् २०२४ को जुलाईमा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । कम्पनीले दैनिक २४ सय मेट्रिक टन क्षमतामा सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनी सर्वोत्तम होल्डिङ प्रालिको सहायक कम्पनीको हो । कम्पनीमा होल्डिङको ९९.५ प्रतिशत स्वामित्व छ । होल्डिङ कम्पनी पनि सर्वोत्तम सिमेन्टको सहायक कम्पनी हो । होल्डिङको ९९.५ प्रतिशत स्वामित्व रहेको कम्पनीमा बाँकी ०.५ प्रतिशत सेयर सौरभ ग्रुपको ७ जना व्यक्तिको स्वामित्व छन् ।

कम्पनीले ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको उक्त सिमेन्ट जगदम्बा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । पर्सा जिल्लाको चोर्नी क्षेत्रमा रहेको उद्योगले अल्पकालीन कर्जाका लागि १ अर्ब ५२ करोड रुपैयाँको रेटिङ गराएको छ ।