
काठमाडौं । सगरमाथा आरोहणका क्रममा खुम्बु आइसफल क्षेत्रमा हिँउको ढिस्को (आइस सेराक) खसेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान आधारशिविरबाट पहिलो शिविरतर्फ जाँदै गर्दा भएको उक्त दुर्घटनामा एक नेपाली गाइड र एक भारतीय आरोही घाइते भएका हुन् ।
घाइते हुनेहरूमा संखुवासभा मकालु निवासी ४४ वर्षीय माउन्टेन गाइड पेम्बा तेण्डुक शेर्पा र भारतको पुणे निवासी ४० वर्षीय आरोही निमिस कुमार सिंह रहेका छन् ।
सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार, बिहान करिब ५:४५ बजेको समयमा ठुलो सेराकभन्दा २० मिटर तलपट्टिको बरफको ढिस्को भत्किएर आरोहीहरू हिँड्ने बाटोमा खसेको थियो । सोही क्रममा उनीहरूलाई चोट लागेको हो ।
घटनालगत्तै पायोनियर एडभेन्चर र समिट फोर्स एक्सपिडिसनका शेर्पा गाइडहरूको टोलीले तत्काल उद्धार सुरु गरेको थियो । त्यसपछि सेभेन समिट ट्रेकको समन्वयमा लुक्लाबाट आएको हेलिकोप्टरले बिहान ६:३० बजे उनीहरूलाई घटनास्थलबाट उद्धार गरेको थियो ।
घाइते दुवै जनालाई उपचारका लागि काठमाडौं स्थित ह्याम्स अस्पताल ल्याइएको छ । उनीहरूको अवस्था अहिले खतरामुक्त रहेको अस्पताल र पर्यटन विभागले जनाएको छ ।
आरोहणको सिजन सुरु भएसँगै आरोहीहरू र गाइडहरू यतिबेला आधारशिविर र माथिल्लो शिविरहरूमा रोटेसनका लागि जाने क्रम तीव्र छ ।





प्रतिक्रिया