लिपुलेकबारे नेपाललाई भारतले फर्कायो जवाफ: यो पूरानै मार्ग हो

602
Shares

काठमाडौं। चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेपछि नेपालले आइतबार पठाएको कूटनीतिक पत्रको जवाफ भारतले दिएको छ ।

भारतले लिपुलेक हुँदै हुने कैलाश मानसरोवर यात्राबारे पुरानै धारणा व्यक्त गरेको छ । भारतले लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा पुरानो मार्ग भएको प्रतिक्रिया दिएको हो ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, ‘लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर चलिरहेको पुरानो मार्ग हो । यस मार्गबाट यात्रा दशकौँदेखि चलिरहेको छ, यो कुनै नयाँ होइन ।’

भारतले नेपालसँग द्विपक्षीय सम्बन्धअन्तर्गत रहेका सबै विषयमा रचनात्मक संवादका लागि तयार रहेको पनि जनाएको छ । सीमासम्बन्धी बाँकी रहेका विषयहरू कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

सन् १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको ऐतिहासिक दस्तावेजमा उल्लेख छ। तर, यसलाई भारतले अस्वीकार गर्दै आएको छ ।