
काठमाडौं । पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको दुईदिने सम्मेलन बुधबार सुरू भएको थियो ।
आइक्यानले लेखा व्यवसाय क्षेत्रका महत्वपूर्ण विषयवस्तु तथा आर्थिक एवं अन्य समसामयिक विषयमा छलफल गरी नीतिनिर्माण प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले बर्सेनि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ ।
यसपालिको सम्मेलनको थिम ‘स्ट्रेन्थ्निङ ट्रस्ट एण्ड इकोनोमिक गभर्नेन्स: क्याटलाइजिङ नेपाल्स इकोनोमिक ट्रान्सफर्मेसन’थियो । सम्मेलनमा यही थिममा केन्द्रित ६ वटा प्राविधिक सत्रहरू सञ्चालन गरिएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि महालेखापरीक्षक रायले जोखिममा आधारित लेखापरीक्षणको महत्वमाथि प्रकाश पार्दै निजी क्षेत्रको पारदर्शिता र सुशासन सुदृढ गर्न लेखापरीक्षणको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले लेखा व्यवसायीहरूले रणनीतिक सल्लाहकार तथा जोखिम व्यवस्थापकको रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।
वर्तमान डिजिटल अर्थतन्त्र र दिगोपनको युगमा तथ्यांकमा आधारित निर्णय प्रणालीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै यहाँले सम्मेलनमा युवा लेखा व्यवसायीको सक्रीय सहभागिता देखेर खुसी व्यक्त गरे । नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा महत्वपूर्ण सुझाव दिन सम्मेलनले योगदान गर्ने विश्वास उनले व्यक्त गरे ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा खगराज शर्मा, एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका अध्यक्ष सिए अनुप नेपाल तथा नेपाल अडिटर्स एसोसिएसनका अध्यक्ष आरए बद्रीप्रसाद भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
सम्मेलनअन्तर्गत पहिलो प्राविधिक सत्र ‘करेन्ट इकोनोमिक आउटलुक एण्ड पोटेन्सियल करेन्ट प्याराडिज्म शिफ्ट’ शीर्षकमा सञ्चालन गरिएको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगरले संयोजन गरेको उक्त सत्रमा डा प्रकाशकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सत्रका प्यानेलिस्ट पूर्व अर्थमन्त्रीहरू रामेश्वर खनाल, सुरेन्द्र पाण्डे, डा. प्रकाशचन्द्र लोहनी र शंकरप्रसाद कोइरालाले नेपालको वर्तमान आर्थिक अवस्था, पूँजीगत खर्च व्यवस्थापन, नीतिगत सुधार, बजेट प्रणालीको प्रभावकारिता तथा करको दायरा विस्तार लगायतका विषयहरूमा आ–आफ्ना धारणा संक्षिप्त रूपमा प्रस्तुत गरेका थिए ।
दोस्रो प्राविधिक सत्र ‘स्ट्रेन्थेनिङ इन्स्टिट्युसनल ट्रस्ट फर सस्टेनेबल इकोनोमिक ट्रान्सफरमेसन’ शीर्षकमा सञ्चालन गरिएको थियो । उक्त सत्रको संयोजन आइक्यानका निवर्तमान अध्यक्ष सिए प्रबिनकुमार झाले गरेका थिए ।
सत्रका वक्ताहरू सुशील ज्ञवाली, सिए महाप्रसाद अधिकारी, प्राडा फत्तबहादुर केसी तथा सिए मनोजकुमार ज्ञवालीले संस्थागत विश्वास अभिवृद्धिका लागि विद्यमान नीतिहरूको प्रभावकारी कार्यान्वयन, सरकारी सेवामा पारदर्शिता अभिवृद्धिका लागि डिजिटाइजेसन, सार्वजनिक विश्वास सुदृढ गर्न स्वेच्छिक प्रकटीकरणको महत्व, बलियो राजनीतिक प्रतिबद्धता तथा बैंकिङ संस्थाहरूको सबलीकरणमा नेतृत्वदायी भूमिकाको आवश्यकताका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
तेस्रो प्राविधिक सत्रको ‘फ्रम इन्नोभेसन टु इम्प्याक्ट: डिजिटल पाथवेज् टु इकोनोमिक्स ट्रान्सफर्मेसन’ थियो । यो सत्रको छलफल नेपालमा आर्थिक रूपान्तरणमा डिजिटल नवप्रवर्तनको भूमिकामाथि केन्द्रित थियो ।
सिए हरिकुमार सिलवालको संयोजनमा सम्पन्न उक्त सत्रमा सिए बिनय खड्काले डिजिटल कर प्रणाली, फिनटेक इकोसिस्टम तथा लेखा र लेखापरीक्षण क्षेत्रमा कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्यानेलिस्टहरू गौरवराज पाण्डे, बिभूषण बिष्ट र मुन्नी राजभण्डारीले डिजिटलाइजेसनको विस्तार, मागमा आधारित डिजिटल समाधानको विकास, डिजिटल भुक्तानी प्रणालीको सुदृढीकरण तथा नियामकीय संरचनाको सबलीकरणमार्फत नवप्रवर्तनलाई प्रभावकारी आर्थिक परिणाममा रूपान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
सम्मेलनको पहिलो दिनका सम्पूर्ण प्राविधिक सत्रहरूमा आर्थिक नीति, सुशासन, संस्थागत विश्वास तथा डिजिटल रूपान्तरणसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा गहन छलफल भएको थियो ।
दोस्रो दिन विभिन्न समसामयिक विषयहरूमा केन्द्रित प्राविधिक सत्रहरू सम्पन्न भए । नेपालको आर्थिक, प्राविधिक तथा व्यावसायिक क्षेत्रसँग सम्बन्धित विज्ञ तथा पेसागत व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको सम्मेलनका सत्रहरू अर्थतन्त्रको रुपान्तरण, संस्थागत विश्वास अभिवृद्धि, डिजिटल नवप्रवर्तन, भ्क्न् अभ्यास तथा व्यावसायिक अभ्यास विकासलगायतका महत्वपूर्ण विषयहरूमा केन्द्रित थिए ।
ती सत्रहरूमा डिजिटल प्रविधिको प्रयोगबाट आर्थिक रूपान्तरणको सम्भावना, इएसजी अभ्यासहरूको कार्यान्वयनमा देखिएका चुनौती र अवसरहरू, लेखा व्यवसायको संरचनागत विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि तथा नेपाललाई विश्वव्यापी लेखा आउटसोर्सिङ केन्द्रको रूपमा विकास गर्न आवश्यक नीतिगत सुधार र दक्ष जनशक्ति विकासका विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएका थिए ।
सम्मेलनका वक्ता तथा सहभागीहरूले नीति कार्यान्वयनको प्रभावकारिता, पारदर्शिता अभिवृद्धि, प्रविधिमैत्री वातावरण निर्माण तथा व्यावसायिक क्षमता विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न सकिनेमा जोड दिएका थिए । यो सम्मेलनले लेखा व्यवसायीहरूबीच ज्ञान आदानप्रदान, नीति संवाद तथा पेशागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
सम्मेलनमा चार्टर्ड एकाउन्टेन्ट्स, लेखा व्यवसायीहरू, नीति निर्माताहरू, नियामक निकायका प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।









प्रतिक्रिया