५ वर्ष बिजुली बेच्न प्राधिकरणले खोलेको टेन्डरमा भारतीयले दिएनन् आवेदन, बालेनको भ्रमणमा टुंगो लाग्ने

4.1k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६०० मेगावाट विद्युत निर्यात गर्न खोलेको बोलपत्रमा भारतीय विद्युत व्यापारीले आवेदन दिन अनिच्छा देखाएका छन् । प्राधिकरणले ओपन एक्सेस (खुला पहुँच)मार्फत् अल्पकाल र दीर्घकाल गरी दुई फरक अवधिका लागि विद्युत विक्री गर्न टेन्डर खोलेकामा भारतमा विद्युत व्यापारको इजाजत पाएकाहरूले आवेदन नदिएका हुन् ।

प्राधिकरणले सुरूमा २ महिना (अप्रिल-मे)का लागि १०० मेगावाट विद्युत बिक्री गर्न टेन्डर खोलेको थियो । गत फेब्रुअरी २७ सम्मका लागि खुलेको सो टेन्डरमा कुनै आवेदन परेको थिएन ।

लगत्तै सन् २०२६ देखि २०३० सम्म जुन-नोभेम्बर अवधिका लागि ५०० मेगावाट बेच्न टेन्डर खुल्यो । अप्रिल ९ तारिखसम्मका लागि सो टेन्डरमा कुनै भारतीय लाइसेन्सधारी व्यापारीले आवेदन नदिएपछि अप्रिल २४ सम्म आवेदन दिने अवधि बढाइए पनि कसैले आवेदन नदिएका हुन्।

पछिल्लो पल्ट प्राधिकरणले दीर्घकालीन रुपमा (५ वर्षका लागि) बिजुली व्यापार गर्ने उद्देश्यले बोलपत्र आह्वान गरेको थियो। प्राधिकरणले बोलपत्र मार्फत प्रतिस्पर्धात्मक दरमा बिजुली खरिद-बिक्री गर्न खोजेको हो । सुरुमा फागुन ११ मा प्रकाशित सूचनालाई एकपटक संशोधन र म्याद थप गर्दै वैशाख ११ सम्म पुर्‍याइएको थियो । तर, उक्त अवधिमा कुनै पनि भारतीय व्यापारिक कम्पनीले इच्छा नदेखाएपछि खुला पहुँचमार्फत् भारतमा बिजुली बेच्ने योजना तत्कालका लागि सफल नहुने भएको हो ।

आफ्नै बलमा बिजुली बेच्ने योजना सफल हुन नसकेपछि प्राधिकरण पुनः द्विपक्षीय सम्झौता वा डे अहेड मार्केट (एक्स्चेन्ज) मा निर्भर हुनु पर्ने भएको हो ।

सम्भवतः प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा यो ६०० मेगावाटबारे नयाँ सम्झौता हुने अनुमान गरिएको छ । जसका लागि प्राधिकरणले करिब ४० वटा आयोजनाहरूको सूची तयार पारी स्वीकृतिका लागि भारत पठाइसकेको छ ।

ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्रीको भ्रमणमा सिधै साना आयोजनाका बारेमा छलफल नभए पनि कूटनीतिक पहलमार्फत् मन्त्रालय स्तरमा बिजुली बेच्ने योजनाले टुंगो पाउने अपेक्षा गरिएको छ । यदि यो ६०० मेगावाटको अनुमति प्राप्त भएमा आगामी असारदेखि नेपाललाई बिजुली निर्यात गर्न थप सहज हुनेछ । हाल नेपालले भारतमा करिब १२०० मेगावाट विद्युत निर्यात गरिरहेको छ ।

हाल सुक्खायामको अन्त्यतिर खोलामा पानीको बहाव बढ्न थालेकाले नेपालले केही मात्रामा बिजुली निर्यात समेत सुरु गरेको छ । तर, पूर्ण रुपमा आत्मनिर्भर नभइसकेकाले दैनिक रुपमा आयात र निर्यात दुवै भइरहेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार अहिले दैनिक फरक समयमा ६ हजार मेगावाट आवरसम्म आयात र १ हजार मेगावाट आवरसम्म निर्यात भइरहेको छ । जेठ महिना लागेपछि आयात पूर्ण रुपमा बन्द भई निर्यातमा तीव्रता आउने प्राधिकरणको प्रक्षेपण छ ।