हिमालयन रि र ७ लघुबिमा कम्पनीका संस्थापकलाई विभागको प्रश्नः प्रिमियम रकम कति र कसरी बुझाइयो ?

413
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि–इन्स्योरेन्स र सात लघुबिमा कम्पनीका संस्थापक सेयर खरिद गर्नेहरुसँग स्थापनाकालीन समयमा भएको आर्थिक कारोबारको विस्तृत विवरण माग गरेको छ ।

विभागले हिमालयन रि–इन्स्योरेन्स कम्पनीको साथमा नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टि माइको लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्सको उक्त विवरण माग गरेको हो ।

विभागले यी कम्पनीको स्थापना तथा अनुमति प्रक्रियाका क्रममा भएको लगानीबारे अनुसन्धान भइरहेकोले सो जानकारी माग गरिएको जनाएको छ ।

विभागले नेपाल बिमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा संस्थापक सेयर खरिद गर्नेहरूले चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको रकमबाहेक अतिरिक्त शुल्क अर्थात् प्रिमियमका रूपमा विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकमको विवरण बुझाउन माग गरेको छ ।

यसरी प्रिमियम बुझाउने संस्थापकहरूले कुन बैंक तथा वित्तीय संस्थाको कुन खाता नम्बरमा को–को व्यक्तिका नाममा के–कति रकम जम्मा गरेका हुन् भन्ने स्पष्ट र फरक नपर्ने विवरण खुलाई विभागमा बुझाउनुपर्ने विभागले जनाएको छ ।

विभागले अनुसन्धानको प्रयोजनका लागि यी विवरणहरू आवश्यक परेको जनाउँदै सूचना प्रकाशित भएको मिति २०८३ साल वैशाख १७ गतेले १५ दिनभित्र अनिवार्य रूपमा जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ ।

यी कम्पनीको संस्थापक सेयर निवर्तमान गृहमन्त्री सुधन गुरूङसहित विभिन्न व्यक्ति तथा कम्पनीले धितोपत्र ऐन विपरित प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम रकम थप गरेर किनेको पाइएको छ । तर, कम्पनीको बुकमा भने १०० रूपैयाँमात्र देखाइएकामा विभागले थप रकम के कारण ? कति ? कसरी ? र कसलाई ? तिरेको भन्दै प्रश्न गरेको हो ।