चीनमा एआईले बनाउँदै विश्वकै अग्लो बाँध, कतै पनि काम गर्ने मान्छे नहुने !

1.1k
Shares

एजेन्सी । चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोग गरेर विश्वकै अग्लो बाँध निर्माण गर्ने भएको छ । यो यस्तो परियोजना हुनेछ, जहाँ कतै पनि मानव जनशक्तिले काम गर्नेछैनन् ।

तिब्बती पठारमा निर्माण हुन लागेको ५९० फिट अग्लो ‘याङ्चु ड्याम’ आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  

‘साउथ चाइना मर्निङ पोस्ट’ मा प्रकाशित रिपोर्ट र सिन्घुवा विश्वविद्यालयको शोधपत्र अनुसार यो बाँधलाई थ्रीडी प्रिन्टिङको शैलीमा एकपछि अर्को तह थप्दै निर्माण गरिनेछ।

निर्माण सम्पन्न भएपछि यो थ्रीडी प्रिन्टिङ प्रविधिबाट बनाइएको विश्वकै सबैभन्दा अग्लो संरचना हुनेछ । हाल दुबईमा रहेको २० फिट अग्लो एउटा कार्यालय भवनलाई यस प्रविधिको सबैभन्दा ठूलो संरचना मानिन्छ, तर चीनको यो बाँधले उक्त रेकर्डलाई निकै ठूलो अन्तरले तोड्ने वैज्ञानिकहरूको दाबी छ ।

यस परियोजनामा एउटा केन्द्रीय एआई प्रणालीले सम्पूर्ण निर्माण कार्यको नेतृत्व गर्नेछ । निर्माण स्थलमा सामग्री ढुवानी गर्न चालकविहीन ट्रकहरूको प्रयोग गरिनेछ भने डोजर, पेभर र रोलरहरू पनि पूर्ण रूपमा स्वचालित हुनेछन् । यी यन्त्रहरूमा जडान गरिएका सेन्सरहरूले प्रत्येक तहलाई कत्तिको कसिलो र टिकाउ बनाउने भन्ने कुराको जानकारी एआई सिस्टमलाई पठाउनेछन् । यद्यपि, निर्माणका लागि आवश्यक कच्चा पदार्थ उत्खननको काम भने मानिसहरूले नै गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन् ।

मुख्य अनुसन्धानकर्ता लिउ तियानयुनका अनुसार एआई र रोबोटको प्रयोगले मानवीय गल्तीहरूलाई पूर्ण रूपमा हटाउनेछ । मानिसले रोलर चलाउँदा सिधा रेखामा नहुन सक्ने वा ट्रक चालकले गलत ठाउँमा सामान खसाल्न सक्ने जस्ता जोखिम यसमा रहने छैनन् । साथै, मानव कामदारको सुरक्षाको चिन्ता नहुने हुनाले निर्माण कार्य २४ सै घण्टा बिना अवरोध अगाडि बढ्न सक्ने बताइएको छ ।

यो बाँध निर्माण सम्पन्न भएपछि चीनमा वार्षिक ५ अर्ब किलोवाट-घण्टा विद्युत ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको छ ।

चीनमा पछिल्लो समय घट्दो जन्मदर र कामदारको सम्भावित अभावलाई मध्यनजर गर्दै उद्योग र निर्माण क्षेत्रमा अटोमेसनलाई प्राथमिकता दिन थालिएको हो । यो प्रयोग सफल भएमा भविष्यमा सडक निर्माण लगायत अन्य ठूला पूर्वाधार आयोजनाहरूमा पनि यसै विधिलाई ‘ब्लुप्रिन्ट’ को रूपमा प्रयोग गरिने वैज्ञानिकहरूको विश्वास छ ।