यस्ता प्रदेशमा आज भारी वर्षा र तिव्र गति हावाहुरीको सम्भावना, सचेत रहन आग्रह

259
Shares

काठमाडौंं । पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधरणतया बादल लाग्नेछ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

सकेसम्म बुधबार राति यात्रा नगर्न मौसमविद्ले सुझाव दिएका छन् ।

उता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा बुधबार साँझदेखि बिहीबार बिहानसम्म तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशको धनुषा तथा वरपरका क्षेत्र, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ तथा आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका डडेलधुरा तथा बैतडी क्षेत्रमा तीव्र हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

प्राधिकरणका अनुसार बुधबार साँझ ५ः५५ बजेदेखि सुरु हुने मौसम प्रणाली बिहीबार बिहान ७ः५५ बजेसम्म सक्रिय रहने अनुमान छ। यस अवधिमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, घरको छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले हावाहुरीका बेला सकेसम्म घरभित्रै बस्न, घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, अग्ला रुख तथा बिजुलीका तारमुनि नबस्न र उडेर आउने वस्तुबाट बच्न सचेत रहन आग्रह गरेको छ।