बैंकहरूले ९ महिनामा ४९ अर्ब कमाए, फि-कमिसन आम्दानीमा सुधार हुँदा नाफा १९.३% ले बढ्यो

1.1k
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको समग्र खुद नाफामा उत्साहजनक सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक वित्तीय विवरण अनुसार, सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले यस अवधिमा कुल ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।

यो नाफा गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म बैंकहरुले कुल ४१ अर्ब २५ करोड १२ लाख रुपैयाँ मात्र नाफा कमाएका थिए।

यस अवधिमा नाफाको अंकका आधारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । नबिलले ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई पहिलो स्थानमा सुरक्षित राखेको छ । बैंकको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ३३.९२ प्रतिशतले बढेको हो । नबिलपछि धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक हो ।

ग्लोबल आईमएई बैंकको बैंकले तेस्रो त्रैमाससम्म ४ अर्ब ४० करोड ९२ लाख लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.९३ प्रतिशतले घटेको हो । चैतसम्म कुमारी बैंकले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । गत आबको तेस्रो त्रैमासमा २८ करोड ५८ लाख रुपैयाँ मात्रै रहेको बैंकको नाफामा उच्च वृद्धि देखिएको छ ।

तेस्रो त्रैमाससम्म एनआईसी एशिया बैंकको नाफा सबैभन्दा कम देखिएको छ । बैंकले चैतसम्म १४ करोड ३ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले घटेको हो । नाफाको अंकमा एनआईसी एशियापछि हिमालयन बैंक रहेको छ । बैंकले तेस्रो त्रैमाससम्म ७६ करोड २५ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा बैंकको नाफा ५२.४९ प्रतिशतले बढेको हो । प्रभु बैंकले ८५ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा ५४.६१ प्रतिशतले घटेको हो ।

गत आवको तुलनामा चालु आवको तेस्रो त्रैमासमा नाफा बढाउनेमा कुमारी बैंक अगाडि रहेको छ । कुमारीपछि राष्ट्रिय वाणिज्य बैंकको नाफा १२९.३४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड पुगेको छ । नाफा बढाउनेमा हिमालयन पनि अगाडि देखिएको हो ।

माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ पुग्दा सानिमा बैंकको नाफा ४२.२२ प्रतिशतले बढेर २ अर्ब ३५ करोड २ लाख रुपैयाँ पुगेको छ । सिटिजन्स बैंकको नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । बैंकको नाफा ३५.८२ प्रतिशतले बढेर १ अर्ब ३० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

प्राइम कमर्सियल बैंकको नाफा ३८.५८ प्रतिशतले बढेर ३ अर्ब ८ करोड ९३ लाख रुपैयाँ पुग्दा सबैभन्दा धेरै नाफा कमाउने नबिलकत्त नाफा ३३.९२ प्रतिशतले बढेको हो । लक्ष्मी सन्‌राइज बैंकको नाफा २३.३६ प्रतिशतले बढेर २ अर्ब ३ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

नेपाल एसविआई बैंकको नाफा २१.४९ प्रतिशतले बढेर १ अर्ब ४६ करोड १८ लाख रुपैयाँ पुगेको छ भने सिद्धार्थ बैंकको नाफा २०.७८ प्रतिशतले बढेर २ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको हो । एनएमबि बैंकको नाफा १३.२५ प्रतिशतले बढेर २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै नेपाल बैंकको नाफा ०.३४ प्रतिशतको सामान्य वृद्धि सहित २ अर्ब ७९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरुको समग्रमा नाफा बढेपनि ७ वटा बैंकको नाफामा भने गिरावट आएको छ । सबैभन्दा धेरै नाफा घट्नेमा प्रभु बैंक रहेको छ । प्रभु बैंकको नाफा ५४.६१ प्रतिशतले घटेको छ । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ६८ लाख रुपैयाँमा झरेको छ ।

कृषि विकास बैंकको नाफा २४.४२ प्रतिशतले नाफा घटेर १ अर्ब ३९ करोड ४० लाख रुपैयाँमा झरेको छ । एनआईसी एशिया, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट र ग्लोबल आईएमई बैंकको नाफामा पनि केही गिरावट आएको छ ।

धेरैजसो बैंकहरुको नाफा बढ्नुले अर्थतन्त्र र बैंकिङ क्षेत्र चलायमान हुँदै गएको संकेत गरे पनि केही ठूला बैंकहरुको नाफामा आएको गिरावटले व्यावसायिक चुनौतीहरु कायमै रहेको देखाउँछ । २० बैंकमध्ये १९ बैंकको निक्षेप र कर्जाको भारित औसत ब्याजदर अन्तर (स्प्रेड रेट) घटेको छ । स्प्रेड रेट घटेपनि बैंकहरुको आम्दानी बढेको छ । वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी २.०९ प्रतिशतले बढेको देखिन्छ ।

अधिक तरलताको चापमा रहेका बैंकहरुले कोषको लागत घटाउन निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् । राष्ट्र बैंकले २.७५ प्रतिशत ब्याजदरमा तरलता प्रशोचन गरिरहेको छ ।

कोषको लागत घटेको र राष्ट्र बैंकले तरलता प्रशोचन पनि गरिरहेकोले अधिक तरलता बढ्दै गएपनि खुद ब्याज आम्दानीमा त्यसको ठूलो प्रभाव भने देखिएको छैन । तर, व्यवसायमा भएको वृद्धिको अनुपातमा केही बैंक बाहेकको खुद ब्याज आम्दानीमा ठूलो वृद्धि भने देखिएको छैन ।

तर, फि तथा कमिसन आम्दानीमा भने सबैजसो बैंकको उल्लेख्य सुधार देखिएको छ । फि तथा कमिसन आम्दानी ४ कारणले वृद्धि देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् । पछिल्लो समय एलसीको कारोबार राम्रो बढेको उनले बताए । ‘एलसीसहित ग्यारेन्टी, रेमिट्यान्स र डिजिटल भुक्तानीको आम्दानी कमिसन आम्दानीमा वृद्धि हुँदा बैंकहरुको फि तथा कमीसन आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ,’ अध्यक्ष कोइरालाले भने ।

२० मध्ये ७ बैंंकको खुद ब्याज आम्दानी घटेको छ । व्यवसाय नै घटाएको एनआईसी एशिया र स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी घटेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सन्‌राइज, हिमालयन, ग्लोबल आईएमई र सिटिजन्स बैंकको पनि खुद ब्याज आम्दानी घटेको छ । ‘तेस्रो त्रैमासमा रिकभरीमा सुधार देखिएको छ । रिकभरी राम्रो रहेको सन्देश दिने वित्तीय विवरण आएको छ । असारमा अझै सुधार हुनसक्छ,’ कोइराला भन्छन् ।