
काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षमा २०.७८ प्रतिशतले बढेको हो ।
बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा भएको वृद्धि तथा सम्भावित कर्जा नोक्सानी व्यवस्थामा आएको सामान्य गिरावटले मुख्य भूमिका खेलेको देखिन्छ ।
बैंकको मुख्य व्यावसायिक आम्दानी मानिने खुद ब्याज आम्दानी ३.०४ प्रतिशतले बढेर ६ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरी, बैंकको खुद फि तथा कमिसन आम्दानीमा पनि सुधार आएको छ । गत आवको चैतसम्म १ अर्ब २० करोड १ लाख रुपैयाँ रहेको बैंकको खुद फि तथा कमिसन आम्दानी १७.४५ प्रतिशतले बढेर १ अर्ब ४० करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) भने केही घटेको छ । निष्क्रिय कर्जा घटेसँगै बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम पनि घटेको हो ।
गत आवको तेस्रो त्रैमासमा २ अर्ब २१ करोड ६४ लाख रुपैयाँ रहेको सम्भावित कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ८.१६ प्रतिशतले घटेर २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा झरेको छ । जसले बैंकको नाफा बढाउन सहयोग गरेको हो ।
बैंकको सञ्चालन खर्च भने बढेको छ । बैंकको सञ्चालन खर्चतर्फ कर्मचारी खर्च २ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ, अन्य सञ्चालन खर्च १ अर्ब १४ करोड ६१ लाख रुपैयाँ र ह्रासकट्टी खर्च १८ करोड ६० लाख रुपैयाँ गरी कुल सञ्चालन खर्च करिब ३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।
कर्मचारी खर्च ३ अर्ब ३२ करोड ९६ लाखबाट बढेको हो । गत वर्षको तुलनामा बैंकको सञ्चालन खर्चमा केही वृद्धि भएको विवरणले देखाउँछ ।
बैंकको व्यवसाय विस्तारमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै सकारात्मक देखिएको छ । बैंकले चैत मसान्तसम्म कुल ३ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असार मसान्तको तुलनामा बैंकको निक्षेप ८.३२ प्रतिशत र कर्जा ७.२६ प्रतिशतले वृद्धि भएको हो ।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६२ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा ४.०४ प्रतिशतबाट घटेर ३.७१ प्रतिशत रहेको छ भने वितरणयोग्य मुनाफा ५१ करोड ५९ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
२ अर्ब १६ करोड २५ लाख ५९ हजार रुपैयाँको ऋणपत्र परिपक्व भएकोले बैंकले डिबेन्चर रिडेम्सन रिजर्भबाट उक्त रकम सञ्चित मुनाफामा सारेको छ । जसले गर्दा बैंकको कुल लाभांश बाँड्न सक्ने रकम २ अर्ब ९९ करोड ९४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । जसबाट बैंकले २०.९८ प्रतिशत लाभांश बाँड्न सक्छ ।
बैंकको मूल्य आम्दानी अनुपात १७.६२ गुणा छ । प्राथमिक पुँजीकोष अनुपात १०.६६ प्रतिशत र कुल पुँजीकोष अनुपात १३.११ प्रतिशत छ । बैंकको खुद निष्क्रिय कर्जा १.८८ प्रतिशत छ ।









प्रतिक्रिया