खुद ब्याज आम्दानीमा सुधार र प्रोभिजन घट्दा ४ अर्ब नाघ्यो कुमारी बैंकको नाफा

518
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको तुलनामा १३६१ प्रतिशतको वृद्धि हो ।

गत आवको तेस्रो त्रैमाससम्म बैंकले मात्र २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा उल्लेख्य रूपमा बढ्नुको मुख्य कारण इम्पेयरमेन्ट चार्ज (सम्भावित कर्जा नोक्सानी व्यवस्था) को रकम उल्लेख्य रूपमा घट्नु र खुद ब्याज आम्दानीसँगै फि तथा कमिसन आम्दानीमा पनि वृद्धि हुनु हो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको मुख्य व्यावसायिक आम्दानी मानिने खुद ब्याज आम्दानी १७.८० प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ९ अर्ब ३० करोड २२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको फि तथा कमिसन आम्दानी पनि २ अर्ब १६ करोड ९१ लाख रुपैयाँबाट बढेर २ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

यता कर्जा नोक्सानी व्यवस्थाको रकम ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँबाट घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ। यसले बैंकको सञ्चालन मुनाफासँगै खुद मुनाफा बढाउन ठूलो सहयोग पुर्‍याएको देखिन्छ।

बैंकको व्यवसाय सामान्य बढेको देखिन्छ । बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि देखिएको छ । बैंकले चैत मसान्तसम्म कुल ३ खर्ब ८१ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा निक्षेपमा ४.६६ प्रतिशत र कर्जामा ४.९१ प्रतिशतको वृद्धि भएको छ । असार मसान्तमा बैंकको निक्षेप ३ खर्ब ६४ अर्ब ६३ करोड र कर्जा २ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि ठूलो सुधार भएर २१ रुपैयाँ २४ पैसा पुगेको छ । हाल बैंकको खराब कर्जा ६.९४ प्रतिशत रहेको छ भने नेटवर्थ प्रतिसेयर १५८ रुपैयाँ ५३ पैसा कायम भएको छ।

२६ अर्ब २२ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चिति नोक्सानी १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जसले गर्दा गत २०८२ असार मसान्तमा ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको सञ्चिति नोक्सानी चैत मसान्तमा आउँदा २ अर्बभन्दा तल झरेको छ ।

बैंकको प्राथमिक पुँजीकोष अनुपात सुधार भई ९.१२ प्रतिशत पुगेको छ । त्यस्तै कुल पुँजीकोष अनुपात १२.८२ प्रतिशत, निष्क्रिय कर्जा ६.९४ प्रतिशत र खुद निष्क्रिय कर्जा २.६९ प्रतिशत छ । बैंकको आधार दर ५.३५ प्रतिशत र स्प्रेड दर ३.५२ प्रतिशतबाट घटेर ३.१३ प्रतिशतमा झरेको छ ।