उत्पादनमूलक कम्पनीलाई पुँजीबजार प्रवेशमा प्रोत्साहन गरिने, ऋणपत्र बजारको विकास गर्न कानूनी सुधार

210
Shares

काठमाडौं । सरकारले पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्ने विषय अघि सारेको छ ।

अर्थमन्त्रालयले सोमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै यस्तो विषय अघि सारेको हो ।

‘पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्नेछ,’ स्थितिपत्रमा भनिएको छ, ‘दोस्रो बजार करोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता ल्याउनु पनि त्यत्तिकै आवश्यक छ ।’

उक्त स्थितिपत्रमा पुँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक रहेको जनाइएको छ ।

पुँजी बजारमा २०८२ फागुनसम्म २८६ कम्पनी सूचीकृत रहेका छन् । दोस्रो बजार कारोबारमा इक्यूटीको अंश ९९.४ प्रतिशत रहेको छ ।

पुँजी बजारमा सरकारी ऋणपत्रहरू सूचीकृत गर्ने प्रावधान रहे तापनि दोस्रो बजार कारोबार सुचारु हुन सकेको छैन । २०७३ असारमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७२.५ प्रतिशत रहेकोमा २०८२ फागुनमा ७७.७ प्रतिशत पुगेको तथ्यांक पनि स्थितिपत्रमा उल्लेख गरिएको छ ।

बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा २०७३ असारमा ८५ प्रतिशतभन्दा बढी रहेकोमा २०८२ फागुनमा सो हिस्सा ५२।२ प्रतिशतमा झरेको सो पत्रमा उल्लेख छ ।