श्वेतपत्र

७ प्रतिशतको आर्थिक वृद्धिका लागि अर्थमन्त्री वाग्लेले अगाडि सारेका ४ क्षेत्र

903
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ७६ बुँदामा देशको वर्तमान आर्थिक अवस्थाको चित्रण गरेका छन् ।

गत चैत १३ गते अर्थमन्त्री नियुक्त भएका वाग्लेले पदभार ग्रहण गरेको एक महिनामा देशको अर्थतन्त्रको चित्र ७६ बुँदामा सार्वजनिक गर्दै आगामी वर्षदेखि ७ प्रतिशतको आर्थिक वृद्धिका लागि ४ वटा आधार अगाडि सारेका छन् ।

उनले ७६ बुँदामार्फत अर्थतन्त्रमा समस्या नै समस्या चित्रण गर्दै ७ प्रतिशतको आर्थिक वृद्धि र १०० अर्ब डलरको अर्थतन्त्र बनाउने आर्थिक रूपान्तरणका ४ संवाहक क्षेत्रसमेत उल्लेख गरेका छन् ।

उनले आगामी वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै ५ देखि ७ वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेका छन् ।

आर्थिक रूपान्तरणका संवाहक क्षेत्रहरू निर्धारण गर्दै सरकारले नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर नजिक पुर्‍याउने आधारहरू प्रस्तुत गरेको छ ।

अर्थमन्त्रीले अगाडि सारेका ४ संवाहक क्षेत्रहरू:
– ५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन
– कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादनमूलक रोजगारी
– गुणस्तरीय पर्यटन पूर्वाधारमार्फत रोजगारी र आय वृद्धि
– सूचना प्रविधिको उपयोग र डिजिटल अर्थतन्त्र निर्माण गर्दै उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात अभिवृद्धि

१. ५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन:

सरकारले आगामी ५ वर्षभित्र विद्युत्को कुल जडित क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरू दुई वर्षभित्र सम्पन्न गर्ने र नयाँ रणनीतिक आयोजनाहरूमार्फत निजी लगानी आकर्षित गरी आर्थिक वृद्धिमा तीव्रता ल्याउने योजना अगाडि सारेको छ ।

२. कृषिको आधुनिकीकरण र पर्यटनसँग आबद्धता:

कृषि क्षेत्रलाई परम्परागत शैलीबाट मुक्त गरी आधुनिकीकरण र व्यवसायीकरण गर्ने घोषणा गरेको छ । कृषिलाई उद्योग र पर्यटनसँग जोडेर उत्पादनमूलक रोजगारी सिर्जना गर्ने सरकारको रणनीति छ ।

३. गुणस्तरीय पर्यटन र पूर्वाधार:

पर्यटन क्षेत्रमा पूर्वाधार विकास र सेवामा सुधार गरी रोजगारी र आय वृद्धि गर्ने लक्ष्य लिएको छ । पर्यटकहरूको आवागमनमा सहजता ल्याएर पर्यटनबाट प्राप्त हुने लाभलाई तल्लो तहसम्म पुर्‍याउने योजना अगाडि सारेको हो ।

४. डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता:

आधुनिक प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै सरकारले कृत्रिम बौद्धिकता र सूचना प्रविधिको उपयोगमार्फत डिजिटल अर्थतन्त्र निर्माण गर्ने योजना अगाडि सारेको छ । यसबाट उत्पादन, उत्पादकत्व र निर्यात वृद्धि हुने अपेक्षा गरिएको छ ।

सरकारले यी आधारहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा नेपालको आर्थिक स्वरूपमा आमूल परिवर्तन आउने र आम नागरिकको जीवनस्तरमा सुधार हुने विश्वास लिएको समेत उल्लेख गरेको छ ।