राजनीतिक नियुक्ति अब प्रतिस्पर्धाबाट, उड्डयन प्राधिकरणको महानिर्देशकका लागि आवेदन माग

1.3k
Shares

काठमाडौं । वालेन्द्र शाह (बालेन)नेतृत्वको सरकारले राजनीतिक नियुक्तिलाई प्रतिस्पर्धाबाट गर्न सुरु गरेको छ । यसको सुरुवात सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको निकायमा हुने नियुक्तिबाट गर्न लागेको हो ।

हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा यसअघि पर्यटन मन्त्रालयको सिफारिसमा सरकारले नियुक्त गर्दै आएको थियो । यस्तो नियुक्ति पर्यटन मन्त्रीले चाहेको व्यक्तिलाई सीधै मन्त्रिपरिषद्मा लगेर निर्णय गराउने गरिएकोमा पहिलोपटक प्रतिस्पर्धाबाट गर्न आवेदन मागिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणको महानिर्देशक पदपूर्ति गर्न शुक्रबार सात दिनको समय दिएर योग्यता पुगेका नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा रहेका इच्छुक उम्मेदवारहरूबाट आवेदन दिन सार्वजनिक सूचना जारी गरिसकेको छ ।

प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको पदावधि माघ १७ मा सकिनु दुई महिनाअगाडि नै निलम्बनमा परेपछि महानिर्देशक पद रिक्त रहेको छ ।

नलिञ्चोक हेलिपोर्ट र पोखरा विमानस्थल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि रिक्त रहेको प्राधिकरणको महानिर्देशक पदमा बालेन सरकार आएसँगै प्रतिस्पर्धाबाट नियुक्त गर्न लागिएको हो ।

पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ को उपदफा (१) बमोजिम प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा महानिर्देशक नियुक्त गर्नुपर्ने भएकाले यो प्रक्रिया अगाडि बढाइएको उल्लेख गरेको छ ।

प्राधिकरणको ऐनले नेपाल सरकराको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका कुनै कर्मचारीलाई महानिर्देशक पदमा नियुक्त गर्ने व्यवस्था गरेको छ ।

विगतमा १२ औं तहका उपमहानिर्देशक मात्रै महानिर्देशक हुने व्यवस्थालाई ११ औं तहका प्रदीप अधिकारीले तोडेपछि सरकारले पहिलोपटक प्रतिस्पर्धाबाटै नियुक्त गर्न खोजेको हो ।

महानिर्देशक पदको लागि माग गरिएको आवेदनमा इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् । यसका लागि कुनै विदेशी मुलुकको नागरिकता वा स्थायी/अस्थायी आवासीय अनुमति पत्र नलिएको र नेपाली नागरिक हुनुपर्ने पनि उल्लेख छ ।

आवेदनका साथमा शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभव खुल्ने कागजात, व्यक्तिगत विवरण (बायोडाटा) का साथै नेपाली वा अंग्रेजी भाषामा तयार पारिएको कम्तीमा तीन हजार शब्दको ‘व्यावसायिक कार्ययोजना’ तीन प्रति पेस गर्नुपर्ने सर्तसमेत तोकिएको छ ।

उम्मेदवारहरूको छनोट कुल ५० पूर्णाङ्कको मूल्याङ्कनका आधारमा गरिनेछ । जसअनुसार शैक्षिक योग्यतामा ४ अंक, अनुभवमा ६ अंक, व्यावसायिक कार्ययोजनामा १५ अंक, प्रस्तुतीकरणमा १५ अंक र अन्तर्वार्तामा १० अंक हुने पनि उल्लेख छ ।

दरखास्त स्वीकृत भई संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूलाई मात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाउने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारले सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा आवेदन दिनुपर्नेछ ।

पर्यटन मन्त्रालयले शुक्रबार नै नेपाल वायुसेवा निगमको रिक्त रहेको तीन र ६ महिनाभित्र रिक्त हुने अर्को एक गरी ४ जना सञ्चालक नियुक्तिको लागि पनि दरखास्त आह्वान गरेको छ । निगममा यसअघि पर्यटन मन्त्रीले इच्छाएको व्यक्तिलाई गर्ने नियुक्तिमा सरकारले प्रतिस्पर्धा गराउन लागेको हो ।

निगममा सदस्य नियुक्तिको लागि उड्डयन सम्बन्धी अनुभव भएको, वायुसेवा निगम ऐन २०१९ अनुसार योग्य र नेपाली नागरिक हुनुपर्ने सर्त तोकिएको छ ।