कर्जा विस्तारसँगै खुद ब्याज आम्दानी बढ्दा पनि सञ्चालन खर्च वृद्धिले बढ्न सकेन नेपाल बैंकको नाफा

निष्क्रिय कर्जा घट्यो

105
Shares

काठमाडौं । कर्जा विस्तारसँगै खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि हुँदा पनि नेपाल बैंकको नाफा भने सामान्य मात्र बढेको छ ।

बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म बैंकको नाफा २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा नाफा ०.३४ प्रतिशतले मात्र बढेको हो।

बैंकले यस अवधिमा आफ्नो खुद नाफामा सामान्य वृद्धि गरे पनि सञ्चालन खर्चमा भएको वृद्धिले नाफा उल्लेख्य रूपमा बढ्न सकेको देखिँदैन ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार चैत मसान्तसम्म खुद ब्याज आम्दानी ३ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब १० करोड रुपैयाँ थियो ।

बैंकको निष्क्रिय कर्जा घटेसँगै कर्जा नोक्सानी व्यवस्थाबाट रकम फिर्ता (रिभर्स) भएको छ । गत आवको तेस्रो त्रैमासमा २८ करोड २८ लाख रुपैयाँ प्रोभिजन गरेको बैंकले चालू आवको तेस्रो त्रैमासमा ३९ करोड १० लाख रुपैयाँ रिभर्स गरेको छ । जसले खुद सञ्चालन आम्दानीमा वृद्धि भए पनि कर्मचारी खर्चसँगै आयकर बापतको खर्च बढेका कारण बैंकको नाफा भने अपेक्षित रूपमा बढ्न नसकेको हो । बैंकको कर्मचारी खर्च २ करोड ९८ लाख रुपैयाँबाट बढेर ३ अर्ब २९ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको कुल नाफा २ अर्ब ७९ करोड भए पनि नियामक समायोजन र विभिन्न कोषहरूमा रकम छुट्याउँदा वितरणयोग्य मुनाफा भने ३२ करोड १३ लाख रुपैयाँ मात्र रहेको छ ।

नेपाल बैंकले निष्क्रिय कर्जामा भने सुधार ल्याएको छ । गत आवको तेस्रो त्रैमासमा ५.४५ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर ४.९६ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जामा सुधारका बाबजुद पनि बैंकले आफ्नो प्रतिवेदनमा निष्क्रिय कर्जा र यसको व्यवस्थापनलाई अझै पनि आन्तरिक चुनौतीको रूपमा उल्लेख गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २६ पैसाबाट बढेर २५ रुपैयाँ ३४ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २७२.७९ रुपैयाँ (वार्षिकीकरण गरिएको), पुँजी कोष १३.०५ प्रतिशत र प्राथमिक पुँजी कोष अनुपात १०.३७ प्रतिशत छ । बैंकको आधार दर ४.७१ प्रतिशतमा झरेको छ भने स्प्रेड दर पनि घटेर ३.७० प्रतिशतमा सीमित भएको छ ।

नेपाल बैंकले ब्याज आम्दानी बढाउन र खराब कर्जा घटाउन सफलता पाए पनि बढ्दो कर्मचारी र सञ्चालन खर्चका कारण खुद नाफामा भने ठूलो फड्को मार्न सकेको छैन । न्यून आधार दर र उच्च तरलताका कारण आगामी दिनमा व्यवसाय विस्तार गर्ने अवसर बैंकसँग छ ।

तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको निक्षेप संकलन र कर्जा विस्तार दुवैमा वृद्धि देखिएको छ । तर, कर्जाको तुलनामा निक्षेप वृद्धिदर उच्च छ । गत असार मसान्तमा ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख रुपैयाँ रहेको बैंकको निक्षेप चैत मसान्तमा ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकले ९ महिनाको अवधिमा निक्षेप १५.७४ प्रतिशतले बढाएको हो ।

यस्तै, बैंकको कर्जा पनि ८.५९ प्रतिशतले बढेर २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा कर्जा २ खर्ब २० अर्ब ४९ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

Skip This