
काठमाडौं । वाईबा इन्फ्राटेकले गत आर्थिक वर्षमा करिब ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा २ अर्ब ९४ करोड रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ३ अर्ब २४ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ४ अर्ब ८४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार हरेक वर्ष घट्दै गएको पाइएको छ । कम्पनीको कारोबार सन् २०२४ को तुलनामा सन् २०२५ मा ९.२८ प्रतिशतले घटेको छ ।
सन् २००६ मा स्थापना भएको कम्पनीले निर्माण क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले विद्युतीय ट्रान्समिसन र वितरण क्षेत्र तथा हाइड्रोपावर क्षेत्रमा काम गर्दै आएको छ ।
कम्पनीले ओभरहेड ट्रान्समिसन लाइन, ओभरहेड तथा भूमिगत विद्युतीय कार्य, विद्युत वितरण प्रणाली, जलविद्युत तथा सबस्टेशन सम्बन्धी विभिन्न सेवाहरू प्रदान गर्दछ ।
कम्पनीले सरकारले तोकेको परियोजनाहरूका लागि आवश्यक योग्यता मापदण्ड पूरा गर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य गर्दै आएको छ ।
कम्पनीको गत आवमा ११ करोड ५० लाख रुपैयाँ कुल नगद सञ्चय रहेको जनाएको छ । सन् २०२४ मा यो २० करोड २० लाख रुपैयाँ थियो ।
लालबहादुर तामाङ वाइबा प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १५ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीसँग चैतसम्म १५ अर्ब ३० करोड ८० लाख रुपैयाँ बराबरका आयोजनाहरू कार्यान्वयन हुन बाँकी अर्डरहरू रहेको जनाएको छ । उक्त ठेक्काले मध्यम अवधिको आम्दानी सुनिश्चित रहेको देखाउँछ ।
गत आवमा गरेको आम्दानीसँग तुलना गर्दा आयोजनाको अर्डरबुकको अनुपात ५.२१ गुणा बढी रहेको छ । तर, अर्डरबुक मुख्यतः एउटै परियोजनामा केन्द्रित छ, जसमा कुल बाँकी कामको करिब ६८ प्रतिशत हिस्सा ओगटेको छ । सरकारले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएको र भारत तथा बंगलादेश जस्ता छिमेकी देशहरूसँग ऊर्जा व्यापारको बढ्दो प्रवृत्ति सकारात्मक रहेको छ ।





प्रतिक्रिया